बालेन बिम्बको विश्लेषण

काठमाडौंमा बालेन बिम्बले सबैको मथिंगल हल्लाएझैँ यसपाला देशभर संगठन र सिद्धान्तकेन्द्रित मतको आधार थप भत्किँदै गएको स्पष्ट बोध गर्न सकिन्छ

बिहिबार, ५ जेठ, २०७९
डिजिटल संस्करण

निर्वाचन आयोगका अनुसार यस वर्ष एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन् । पछिल्लो पाँच वर्षमा झन्डै ३७ लाख युवा मतदाता थपिएको देखिन्छ । स्थानीय निर्वाचनमा युवापुस्ताबाट उम्मेदवारी पनि बढेको देखियो । निर्वाचन आयोगका अनुसार २१ वर्षका उम्मेदवार मात्रै चार सय १२ मध्ये २६ जना पालिका प्रमुख र अध्यक्षका प्रत्यासी थिए । २१ वर्षका महिला उम्मेदवार नै २०९ जना थिए, यद्यपि उनीहरू पालिका प्रमुख र अध्यक्षका प्रत्यासी थिएनन् ।

२१ देखि ४० वर्षका पुरुष उम्मेदवार ३२ हजार २३५ र महिला २७ हजार १६७ देखिए । यसमा एमालेका ३३ हजार १८६ मध्ये २१ देखि ४० वर्षमुनिका ३९.१८ प्रतिशत, कांग्रेसको ३० हजार ७५० मध्ये ३९.५५ प्रतिशत र माओवादीको २० हजार ७६९ मध्ये ४४.५३ प्रतिशत २१ देखि ४० वर्षका उम्मेदवार थिए । काठमाडौँ उपत्यकाका महानगरपालिकामा मात्रै नभई देशभरका पालिकामा युवाहरू स्वतन्त्र तथा दलमार्फत नेतृत्वका लागि अघि सरेका थिए । सामाजिक सञ्जाल तथा मिडियाले युवायुवती पालिका प्रतिनिधिका आकांक्षीलाई बढी प्राथमिकताका साथ प्रस्तुत गरिरहेको देखिन्थ्यो । आपत्विपत्, उत्सव, महोत्सव सबै काममा युवाको भूमिका अग्रणी हुन्छ । सामाजिक सञ्जालमा पनि युवाकै भूमिका अझ बढी प्रखर हुने नै भयो । यही पृष्ठभूमिबाट र्यापर कलाकार तथा इन्जिनियरका रूपमा स्थापित बालेन साह राजनीतिमा विसंगत बिम्बका साथ स्थापित बन्न पुगेका छन् ।

बालेन विरोधाभाषपूर्ण बिम्ब बोकेका एक पात्रका रूपमा स्थापित हुँदै छन् । पहिलो कुरा त उनी मधेसी पहिचान बोकेका एक युवा नेवाः सभ्यता र नेवार बाहुल्य भएको प्राचीनतम भूमिमा यति बढी हाइहाई हुनु नै विसंगत बिम्ब बन्न पुगेको छ । हिजोसम्म यसरी एक मधेसी पात्रले काठमाडौँ उपत्यकामा राजनीतिक पहिचान बनाउने हिम्मत गरेका थिएनन् । कसैले हिम्मत गरेका भए पनि धरौटी जफत हुने अवस्था थियो । 

बालेनको चर्चा चुलिँदै जाँदा कतिपय मेरा मित्रहरूले बालेनले आठ हजार भोट कटाएमा कान काटेर फालिदिन्छु भन्थे । उपत्यकाका नगर प्रमुख तथा उपप्रमुख प्रत्यासीलाई हामीले साइकलमैत्री दिगो सहरको राजनीतिक प्रतिबद्धता व्यक्त गर्न भेला गराइरहँदा बालेनलाई छुटायौँ, अहिले मलाई पश्चात्ताप बोध भइरहेको छ । कीर्तिपुर, ललितपुर, बनेपादेखि दिगो सहरी विकासका लागि प्रतिबद्धता व्यक्त गर्न काठमाडौंमा उम्मेदवार भेला गराइयो । बालेनलाई समेट्न सकिएन ।

बालेनलाई बोलाउने जिम्मा लिएका मित्रले प्राथमिकतासाथ बोलाएनन् कि ? केही आयोजक मित्र नै भन्दै थिए, ‘बालेनको भोट भनेको बढीमा सात हजारको हाराहारी हो ।’ त्यही बखत बालेन भने ‘मेरो ठ्याक्कै यति हजार यति सय यति मत आउँछ र जित्छु’ भन्दै भाषण गर्दै थिए । उनको अभिव्यक्तिमाथि दुनियाँ कोही हौसिँदै र कोही हाँस्दै थिए । मधेसीलाई पूर्ण मान्छे मान्न गाह्रो बोध गर्ने केन्द्र काठमाडौँमा एक मधेसी युवा यति चर्चित र प्रिय बन्नु विश्वको आठौँ आश्चर्यझैँ बनेको छ । नेपाली मौलिक लोकतन्त्रको दीर्घायुका लागि यो सुनौलो खबर हुन सक्छ ? अझ भोलिका दिनमा कर्नाली वा मधेसका कोही दलित महिलाले काठमाडौँ केन्द्रमा यस्तै स्पेस निर्माण गर्न सक्ला ? यसमाथि अलग्गै बहस गर्न सकिन्छ । 

दोस्रो विसंगत बिम्ब भनेको बालेनका कतिपय गतिविधिलाई लिन सकिन्छ । एक र्यापर, अझ इन्जिनियर र प्राविधिक मान्छे । भोट दिँदै गर्दा ‘ज्योतिषलाई हात हेराएर आएकाले जित्छु भन्छ बा ।’ सन् १८८५ मै फ्रेडरिक नित्सेले ‘दश स्पेक जाराथु्रस्ट्रा’ लेखेर ईश्वरको मृत्युको घोषणा गरिसकेको उनलाई ज्ञात नभएको पक्कै होइन । रवीन्द्र मिश्रले पनि भ्रष्टाचारीलाई किरा परोस् भन्ने नारा लेखिएको टिसर्ट लगाएर भाग्यवादबाट मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन खोजेका थिए । केही समय उनको चर्चा काठमाडौँमा चुलिएकै हो ।

अहिले उनलाई बत्ती बालेर खोज्नुपर्ने अवस्था देखिँदै छ । सुरुमा निकै विद्रोहीझैँ देखिएका मिश्र क्रमशः भाग्यवादी भासमा भासिँदै अहिले राजावादी राजनीतिक मार्गमार्फत फेससेभिङ गर्ने अवस्थामा देखिन्छन् । बालेन पनि भाग्यवादी भासमा मिश्रभन्दा धेरै पर देखिन्नन् । जसरी हेटौँडाका मेयर उम्मेदवार दीपकबहादुर सिंहले आफ्ना प्यानल सबैलाई मन्दिरमा लगेर भ्रष्टाचार नगर्ने कसम खुवाएको खबर छ । त्यसलाई हेटौँडाका कतिपय बुद्धिजीवीले ‘नौटंकी’ भन्दै थिए । उहिले पनि हेटौँडाबाट चुनाव जित्ला जस्तो अवस्था देखेर विद्वान् मित्रहरू जिल खाँदै छन् । 

बालेनको हकमा सामाजिक सञ्जाल नै संगठन बन्न पुगेको छ । डिजिटल माध्यमबाट उठेर एक ३२ वर्षे ठिटो, केबल एउटा व्यक्तिविशेष नै दलझैँ देखिएको छ, जसले स्थापित एमाले र कांग्रेसलाई विस्थापित गर्न सक्ने परिपक्वता देखाएको छ ।
 

बालेन एक व्यक्ति, जो जति हो, त्यति नै बुझनु राम्रो होला । उनी महान् भन्दा पनि रणनीतिमा अलि बढी अब्बल देखिन्छन् । एकातिर भाग्यवादी, अर्कातिर क्रान्तिकारी पनि देखिएका छन् । जुन एक रथका दुई पांग्रा होइनन् । भाग्यवाद विद्रोही विचारको बन्ध्याकरण गर्ने अस्त्र हो । तर, बालेन क्रान्तिकारी बन्न खोज्दै छन्, भाग्यवादलाई काँध हालेर । एउटा उदाहरण हेरौँ, ‘बालेनको बलिदान’ र्यापमा क्रान्तिकारी गीतको रिमिक्स छ । राल्फा आन्दोलनबाट उठेको चर्चित गीत ‘गाई त बाध्यो, ढुंग्रोमा मोही छैन’ जस्ता क्रान्तिकारी सौन्दर्यलाई उनले र्यापमा ढालेर आफ्नो पक्षमा जनमत उर्लाउन खोजेको देखिन्छ । श्रमजीवी जनता र क्रान्तिकारी समूहलाई पनि सुसी पार्ने, भाग्यवादी जमातलाई पनि नभड्काउने अवसरवादी रणनीति उनले अवलम्बन गरेका छन् । 

राष्ट्रवाद जनतालाई आफूअनुकूल उर्लाउने अर्को सबैभन्दा शक्तिशाली अस्त्र हो भन्ने बोध बालेनमा पनि देखिन्छ । कतिपय क्रान्तिकारी भनिने जमात नेपाली झन्डा र महाआख्यानमा समस्या देख्छन् । कतिपय क्रान्तिकारीले स्थापित राष्ट्रिय प्रतीकहरूलाई असमावेशी भन्दै आएका छन् । बालेन भोट माग्ने क्रममा प्रायः नेपालको चन्द्रसूर्य अंकित वास्तविक झन्डा नै ओढेर हिँडेको देखिन्थ्यो । झन्डाप्रतिको उनको मोह कति सक्कली वा नक्कली थियो, यसबारेमा पनि अलग बहस गर्न सकिन्छ । कुनै मिडियाले यस विषयलाई आलोचनात्मक ढंगले उठान गर्दा सस्क्राइबर घट्दै गएको विषयले पनि चर्चा पाएको थियो । मिडियाको काम भ्युअर बढाउने मात्रै हो कि भ्युअर घटे पनि मतलव नराखी यथार्थ तथा तटस्थ विचार प्रवाह गर्ने भन्नेबारेमा पनि अलग बहस गर्न सकिएला । 

काठमाडौँको राजनीति बालेनमय बनिरहँदा हेटौँडामा दीपकबहादुर सिंह हाइहाई हुँदै गरेको दृश्य देखेर म जिल्ल परेँ । पाका पुस्तादेखि युवापुस्ता जताततै हलोमा भोट हाल्ने भन्दै थिए । कारण थाहा छैन, भोट हलोमै दिने भन्दै थिए । राजेन्द्र लिङ्देनले हेटौँडामा गएर ऐतिहासिक भाषण गरेको चर्चा पनि चलिरहेकै थियो । पाका पुरुष नेताद्वय दीपक सिंह र अनन्त पौडेलभन्दा पृथक् देखिने महिला मेयरको प्रत्यासीमा थिइन्, मीना लामा । महिला, तामाङ, इसाई आदि पहिचान र सांगठनिक शक्तिजस्ता कुनै सिद्धान्तले काम गरिरहेको भेउ पाउन सकिने अवस्था देखिन्नथ्यो ।

गठबन्धन, गैरगठबन्धन, पूर्वपञ्च सबैलाई सराबरी भोट हाल्ने मनसायमा जनमास देखिन्छन् । हिजोसम्म एमसिसी पास गर्नेलाई निर्वाचनमार्फत ठेगान लगाइदिने जमात एक पाइलाअघिको इतिहास पूरै बिर्सिएर रुखमा भोट दिन लाम लागेको देखियो । यति विसंगत ढंगले मतदाता अघि बढ्दै गरेको देखिन्थ्यो कि, कुनै राजनीतिक शास्त्रीको सिद्धान्तमा टेकेर विश्लेषण गर्न सकिने अवस्था देखिन्नथ्यो । एमालेले एमालेलाई भोट हालिरहेको देखिएन । कांग्रेसले पनि अर्कैलाई भोट गर्दै गरेको देखियो । जातीय भोट पनि भद्रगोल देखिन्छ । न धार्मिक भोटकै स्पष्ट आकलन गर्न सकिने अवस्था देखिन्थ्यो । ३३ प्रतिशत तामाङ, ५० प्रतिशत महिला, करिब ११ हजार इसाई अनि गठबन्धन सबै हिसाबले सहजै जित हासिल हुनुपर्ने हो, मीना लामाको, तर अवस्था अन्योल देखिन्थ्यो । काठमाडौँमा बालेन बिम्बले सबैको मथिंगल हल्लाएझैँ यसपाला देशभर संगठन र सिद्धान्तकेन्द्रित मतको आधार थप भत्किँदै गएको स्पष्ट बोध गर्न सकिन्छ । 

पञ्चायतकालका चर्चित विद्रोही व्यक्तित्व रूपचन्द्र विष्ट प्रजातन्त्रको पुनस्र्थापनासँगै राजनीतिक वृत्तबाट विस्थापित बन्न पुगे । यद्यपि उनका विद्रोही विचारहरू अझै प्रगतिशील वृत्तमा स्थापित छन् । कमल थापाहरूको जगजगी तथा विरोध खतिवडाहरूको क्रान्तिकारी कालमा एउटा नारा घन्किन्थ्यो, ‘सयौँ मन्डले एक्लाएक्लै, एक्लो रूपचन हुलका हुल ।’ रूपचन्द्रको थाहा आन्दोलनभन्दा भिन्न विद्रोही पृष्ठभूमिबाट आएका बालेन हजाराँै हुलमाझ अहिले स्थापित बनेका छन् । लाखौँ पूर्णकालीन कार्यकर्ताको धनी दलका समर्थक भने लघुताभाषमा खुम्चिन बाध्य देखिन्छन् । बालेनको हकमा सामाजिक सञ्जाल नै संगठन बन्न पुगेको छ । डिजिटल माध्यमबाट उठेर एक ३२ वर्षे ठिटो, केबल एउटा व्यक्ति विशेष नै दलझैँ देखिएको छ । जसले स्थापित एमाले र कांग्रेसलाई विस्थापित गर्न सक्ने परिपक्वता देखाएको छ ।

 अन्तमा, बालेन बिम्बले नेपालको दलीय राजनीतिमा उलटपुलटको खाँचोलाई स्पष्ट औँल्याएको छ । निर्वाचन संगठन र पैसाले होइन, कलाले जितिन्छ भन्ने राजनीतिक पाठ अब बालेनहरू पढाउँदै छन् । भ्रष्टाचारबाट अरबौँ कमाएर करोडौँ खर्चेर मात्रै चुनाव जितिन्न भन्ने चेतना बालेन बिम्बभित्र अन्तरनिहित देखिन्छ । अति घमन्डले खती निम्त्याउने सिख पनि छँदै छ । अकस्मात केशव स्थापितसँग भेट हुँदा बालेनले आक्रोशको साटो ‘आशीर्वाद’ मागे । यस्तो शालीनता एकले अर्कालाई पाताल भसाउने गरी गालीगलोज गर्दै आएका राजनीतिक ‘बा’हरूले सिक्न सके नेपाली राजनीति थप सभ्य र भव्य बन्न सक्छ ।

उनले जित्दैमा काठमाडौँ उपत्यका रातारात मल्लकालीन स्वर्णिम युगमा फर्किने होइन । तर, बालेन विजयी बनून् या नबनून्, बालेन बिम्ब विश्वव्यापी बनिसकेका छन् । यस्तै अवस्थामा जनलहर उर्लिएमा आगामी निर्वाचनमा थप उथलपुथल नआउला भन्न सकिन्न । नेपाली अब विश्व नागरिक बनिसकेका छन्, रैतीमा सीमित छैनन् । यदि विश्वभर छरिएर रहेका करिब ५५ लाख नेपालीले पनि मतदान गर्ने हो भने नेपाली राजनीतिमा धेरै बालेनहरू जन्मिनेछन् । यद्यपि, बालेन एक व्यक्ति हुन्, उनको पनि सीमा छ । एउटा कास्टिङ हेर्दै काकतालीमै कोही बहकिनु राम्रो होइन । अहिल्यै उनलाई ‘महानायक’ वा ‘महामानव’ बनाउन भौँतारिइरहेका भिडतन्त्रबाट बालेनहरू बचून् । 

See More On

सुझावित समाचार