पूर्वमन्त्री पार्वत गुरुङको गृहपालिकामा गठबन्धनका उम्मेदवार विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पार्वत गुरुङको गृहपालिका दोलखाको गौरीशंकरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । ९ वटा वडा रहेको गौरीशंकर गाउँपालिकामा यसअघि पालिका अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडाको नेतृत्व गरेको एमालेले यसपटक  एउटा वडामा मात्रै सीमित भएको छ । 

बुधबार सम्पन्न मतगणनाअनुसार गौरीशंकरमा गठबन्धन दलहरूले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र ८ वडामा विजयी हासिल गरेका छन् ।

गौरीशंकर गाउँपालिकामा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका विश्वास कार्की पालिका अध्यक्षमा विजयी भएका छन् । उनी एमालेका उम्मेदवार जंगबहादुर गुरुङलाई ९ सय ९४ मतान्तरले पराजित गर्दै पालिका अध्यक्ष बनेका छन् । 

गौरीशंकरमा उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । कांग्रेसबाट उम्मेदवार बनेका श्यामसुन्दर तामाङ ४ हजार ७ सय ४१ मतसहित पालिका उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मुना सिवाकोटीले ३ हजार २ सय ८१ मत प्राप्त गरेकी छिन् । 

सिवाकोटी तामाङसँग एक हजार ४ सय ६० मतान्तरले पराजित भएका हुन् ।

यससँगै सत्तारुढ गठबन्धनले दोलखाका ३ वटा पालिका अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको छ ।  कालिञ्चोक र तामाकोसी गाउँपालिकामा पनि गठबन्धनका अध्यक्ष र उपाध्यक्ष नै विजयी भएका थिए ।

सम्पादकको रोजाइ

सुझावित समाचार