सर्लाहीको बागमती नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार फराकिलो मतान्तरले विजयी भएका छन् । मतगणनाको अन्तिम परिणामअनुसार बागमती नगरपालिकाको मेयर र उपमेयरमा माओवादीका भरतकुमार थापा र लीलाकुमारी मोक्तान पुनः निर्वाचित भएका हुन् । मेयर थापाले ३९८९ मत अन्तरले विजयी भएका हुन् ।
मेयरमा निर्वाचित थापाले कुल ११,३५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार टंकबहादुर बस्नेत(गोकुल)ले ७,३६८ मत मात्र प्राप्त गरे । उपमेयरमा माओवादी केन्द्रकी उम्मेदवार मोक्तानले १०,८७९ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सरिता घिसिङले ७७०५ मत मात्र प्राप्त गरिन् । त्यसैगरी, १२ वडामध्ये माओवादी केन्द्रले १० वटामा जित निकालेको छ । बाँकी दुईमध्ये एक-एक वडामा कांग्रेस र एमाले विजयी भएका छन् ।
यस पालिकामा ०७४ को स्थानीय निर्वाचनमा मेयर-उपमेयरमा माओवादी केन्द्रले बाजी मारे पनि तीन वडामा नेकपा एमाले विजयी भएको थियो । यसपटक एमाले एउटा मात्र वडामा खुम्चिएको छ भने नेपाली कांग्रेसले एक वडाबाट आफ्नो उपस्थिति जनाएको छ ।
बागमती–४ र १२ नम्बर वडामा रहेको १२१ बिघा क्षेत्रफलमा फैलिएको मानवनिर्मित तालका परिकल्पनाकार थापालाई स्थानीयले विकास प्रेमी मेयरको रूपमा चिन्ने गरेका छन् ।