धनगढी उपमहानगरपालिकामा सुरुबाटै अग्रता लिइरहेका मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन्। निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवारभन्दा हमाल दोब्बरभन्दा बढी मतले अगाडि छन्।
२६ हजार ४१९ मत मगणना हुँदा हमालले १२ हजार ३०४ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसका नृपबहादुर बडले पाँच हजार ८९२ मत पाएका छन्। हमाल गठबन्धनका उम्मेदवारभन्दा छ हजार ४१२ मतले अगाडि छन्। निवर्तमान मेयर बड दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा छन्।
मेयरमा नेकपा एमालेका रणबहादुर चन्दले दुई हजार ७५२ मत पाएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयरमा पाँच हजार ५५ मत बदर भएका छन्।
उपमेयरमा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारी पाँच हजार ३०९ मतसहित अग्र स्थानमा छन्। एमालेकी कन्दकलाकुमारी राना चार हजार सात सय मत ल्याएर अधिकारीलाई पछ्याइरहेकी छिन्। धनगढीमा ६३ हजार ७१५ मत खसेको छ।