कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेका छन् । माओवादी केन्द्रका देवीदत्त उपाध्याय तीन हजार एक सय ३४ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका धरमबहादुर थापाले दुई हजार सात सय १५ मत पाए ।
थापा ०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेका उम्मेदवारसँग पराजित भएका थिए । एमाले प्रवेश गरेर अध्यक्षको टिकट पाएका थापा यसपटक पनि पराजित भएका हुन् ।
उपाध्यक्षमा कांग्रेसका उम्मेदवार कमलबहादुर साउद तीन हजार तीन सय ३९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी सरस्वतीदेवी रावल विष्टले दुई हजार तीन सय तीन मत प्राप्त गरिन् । मोहन्याल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्तारुढ गठबन्धनबीच तालमेल भएको थियो । वडामा भने दलहरूले एकल प्रतिस्पर्धा गरेका थिए ।
मोहन्यालका सातवटा वडामध्ये कांग्रेसले चार, माओवादीले दुई र एमालेले एउटा वडामा अध्यक्षमा विजय हासिल गरेका छन् ।