काठमाडौं महानगरपालिकाको मतपरिणाम आएका चारैवटा वडाको अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। पछिल्लो समय वडा नम्बर ५ को मत परिणाम सार्वजनिक भएसँगै एमालेले जितेको वडाको संख्या चार पुगेको हो।
वडा नम्बर ५ मा एमालेका वीरेन्द्र प्रजापति एक हजार आठ सय १८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेस रमेश डंगोलले एक हजार पाँच सय ७५ मत प्राप्त गरेका छन्। महागरको वडा नम्बर १, २, ३ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ।
मतपरिणामअनुसार वडा नम्बर १ मा भरतलाल श्रेष्ठ, वडा नम्बर २ मा राजेन्द्रकुमार श्रेष्ठ र वडा नम्बर ३ मा प्रेम थापा विजयी भएका छन्। यो समाचार तयार पार्दासम्म महानगरको वडा नम्बर ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ।