काभ्रेका १३ स्थानीय तहमध्ये दुई स्थानीय तहको मतगणना सम्पन्न भएको छ। मतपरिणाम आएका दुवै पालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार भुम्लु गाउँपालिकामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका अध्यक्ष प्रेमबहादुर भुजेल (बृहत) र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार जितेन्द्रमान लामा (दावा) निर्वाचित भएका छन्। भुजेल पाँच हजार सात सय ९२ र लामा ६ हजार ९८ मत ल्याएर विजयी भएका हुन्।
उनीहरूका प्रत्याशी एमालेका अध्यक्षका उम्मेदवार प्रेम लामाले चार हजार पाँच सय ६८ र उपाध्यक्षका उम्मेदवार कल्पना श्रेष्ठले चार हजार २९ मत प्राप्त गरेका छन्। अध्यक्षमा एक हजार दुई सय २४ र उपाध्यक्षमा दुई हजार ३९ मतान्तर रहेको छ। उक्त गाउँपालिकामा एमालेका उम्मेदवारले पाँच वडा, कांग्रेसका उम्मेदवारले तीन वडा, माओवादी केन्द्रले एक वडा र एकीकृत समाजवादीले एक वडा जितेका छन्।
त्यसैगरी, खानीखोला गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा गठबन्धनबाटै कांग्रेसका दोर्जेमान जिम्बा निर्वाचित भएका छन्। अध्यक्षका उम्मेदवार थिङले चार हजार चार सय ८५ र जिम्बाले चार हजार तीन सय २८ मत प्राप्त गरेका छन्।
अध्यक्षमा एमालेका उम्मेदवार शेखर लामाले तीन हजार एक सय ५५ मत र उपाध्यक्षका उम्मेदवार रुकमेणी गुरुङले दुई हजार नाै सय ८७ मत प्राप्त गरी पराजित भएका छन्। अध्यक्षमा एक हजार तीन सय ३० र उपाध्यक्षमा एक हजार तीन सय ४१ मतान्तरले थिङ र जिम्बा विजयी भएका हुन्। उक्त गाउँपालिकामा माओवादी केन्द्रले चार, कांग्रेसले दुई र एमालेले एक वडा जितेका छन्।