दोलखाको बैतेश्वर गाउँपालिकामा कांग्रेस विजयी

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

दोलखाको बैतेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार फराकिलो मतान्तरसहित विजयी भएका छन् ।  बुधबार सम्पन्न मतगणनाअनुसार अध्यक्षमा कांग्रेसका छवि लामा र उपाध्यक्षमा कल्पना उप्रेती फराकिलो मतान्तरसहित विजयी भएका हुन् ।

निर्वाचन अधिकृतको कार्यालय बैतेश्वरका अनुसार लामाले एमालेका उम्मेदवार माधव घिमिरेलाई दुई हजार एक सय २७ मतले पराजित गर्दै विजयी भएका हुन् । लामाले पाँच हजार दुई सय ९९ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी एमालेका माधव घिमिरेले तीन हजार एक सय ८२ मत पाएका थिए ।

अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार लक्ष्मण खड्काले दुई हजार आठ सय ६३ मत प्राप्त गरेका थिए । त्यस्तै, उपाध्यक्षमा कांग्रेस नेतृ कल्पना उप्रेतीले प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका कल्याण दाहाललाई दुई हजार पाँच सय ५५ मतले पछि पार्दै जित हात पारेकी छिन् ।

उप्रेतीले पाँच हजार दुई सय ७३ मत ल्याउँदा समाजवादीका दाहालले दुई हजार सात सय १८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छविलाल तामाङले भने दुई हजार ६७ मत पाएका छन् । 

आठवटा वडा रहेको बैतेश्वर गाउँपालिकामा चारवटा वडामा कांग्रेसले विजय हासिल गरेको छ भने बाँकी चार वडामा एमाले र माओवादीले दुई–दुईवटा वडामा जित हात पारेका छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार