- जारी मतगणनाको मंगलबार मध्यरातिसम्मको नतिजाअनुसार स्थानीय तहका उपाध्यक्ष/उपप्रमुखमा दुई सय ४२ महिला निर्वाचित, कांग्रेसबाट एक सय १४, एमालेबाट ८९ र माओवादी केन्द्रबाट ४१ ले जिते चुनाव
- अघिल्लो स्थानीय तहको चुनावबाट १४ हजार तीन सय ५२ महिला निर्वाचित भएका थिए । त्यसमा सात मेयर, ११ गाउँपालिका अध्यक्ष र ६२ वडाध्यक्ष थिए ।
स्थानीय तहको प्रमुख/अध्यक्ष र वडाध्यक्षमा महिलाको उपस्थिति अत्यन्त थोरै हुने भएको छ । यी कार्यकारी पदमा दलहरूले महिला उम्मेदवार नै थोरै बनाएका थिए । उपप्रमुख/उपाध्यक्षमा भने उल्लेख्य उपस्थति हुने देखिन्छ । यद्यपि, अघिल्लोपटकको भन्दा उपप्रमुखमा पनि महिलाको संख्या कम हुने अनुमान छ ।
मंगलबार मध्यरातिसम्म देशभरबाट दुई सय ४४ महिला उपप्रमुख/उपाध्यक्ष निर्वाचित भएका छन् । जसमा एक सय आठ कांग्रेस, ८९ एमाले, ४१ माओवादी केन्द्र, तीन/तीनजना क्रमशः एकीकृत समाजवादी र जसपा छन् ।
संघीय प्रणालीमा नागरिकको सेवा प्रवाहसँग जोडिएको सबैभन्दा निकटको संयन्त्र वडा हो । आधारभूत सेवा प्रवाह र बजेट कार्यान्वयनमा वडाको भूमिका महत्वपूर्ण हुन्छ । वडाको कार्यकारी पदमा निर्वाचित वडाध्यक्ष हुन्छन् । तर, दलहरूले लैंगिक हिसाबमा निकै कम मात्र महिलालाई वडाध्यक्षमा उम्मेदवार बनाएका छन् । ०७४ को निर्वाचनमा कुल ३५ हजार ४१ स्थानीय जनप्रतिनिधि निर्वाचित भएकामा १४ हजार ३५२ महिला जनप्रतिनिधि निर्वाचित भएका थिए ।
स्थानीय तहका प्रत्येक वडामा एक महिला र एक दलित महिला सदस्य हुनैपर्ने, गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष तथा नगर, उपमहानगर र महानगरपालिकाको मेयर र उपमेयरमध्ये एक पदमा महिला उठाउनैपर्ने संवैधानिक बाध्यताले यो संख्या ठूलो देखिएको हो । तर, त्यसमध्येमा कार्यकारी भूमिकाका गाउँ/नगर अध्यक्ष/प्रमुख तथा वडाध्यक्षभन्दा पनि पालिकाका उपाध्यक्ष/उपप्रमुख र अनिवार्य कोटामा निर्वाचितको संख्या ठूलो थियो । अघिल्लो स्थानीय तहको निर्वाचनबाट ४१ प्रतिशतभन्दा बढी महिला जनप्रतिनिधि निर्वाचित भएकामा यसपटक मनोनयन दर्तामै यो भन्दा कम संख्या छ । यसपटक पनि पालिकाका अध्यक्ष/प्रमुख र वडाध्यक्षमा प्रतिस्पर्धा गर्ने महिलाको संख्या नै कम छ ।
दलहरूले कार्यकारी पदमा न्यून संख्यामा मात्र महिलालाई उठाएका छन् । उम्मेदवार नै कम भएपछि निर्वाचितको संख्या पनि कम छ । अहिले निर्वाचनको मतगणना चलिरहेको छ । जारी मतगणनाको अन्तिम नतिजा आइसकेका पालिकामा विजयी भएका महिला अध्यक्ष/प्रमुख र वडाध्यक्षको संख्या न्यून छ ।
सिन्धुलीमा ७९ वडामध्ये एक मात्र उम्मेदवार भद्रा माझी वडाध्यक्ष निर्वाचित
सिन्धुलीको दुधौली नगरपालिका–३ को वडाध्यक्षमा भद्रा माझी निर्वाचित भएकी छन् । उनी जिल्लाका ७९ वटा वडाकी एक मात्र महिला वडाध्यक्ष पदकी उम्मेदवार हुन् । उनी आठ सय ६ मतसहित विजयी भएकी हुन् । एमालेका पुरुष प्रतिस्पर्धीलाई पछि पार्दै उनी निर्वाचित भएकी हुन् ।
गोरखामा पहिलोपटक दुई महिला वडाध्यक्ष निर्वाचित
गोरखाका दुईवटा वडामा पहिलोपटक महिला वडाध्यक्ष निर्वाचित भएका छन् । सिरानचोक गाउँपालिका–१ र सहिदलखन गाउँपालिका–२ मा महिला वडाध्यक्ष निर्वाचित भएका हुन् । सिरानचोक–१ मा कांग्रेसकी उम्मेदवार मनिता गुरुङ र सहिदलखन–२ मा माओवादीकी सकुन थापामगर वडाध्यक्ष निर्वाचित भएका हुन् । ९४ वडा रहेको गोरखामा अघिल्लो स्थानीय तहको निर्वाचनमा कुनै पनि वडामा महिला अध्यक्ष निर्वाचित भएनन् । अझै मतपरिणाम आउने क्रम जारी रहेकै अवस्थामा अहिलेसम्म दुई वडामा महिला अध्यक्ष निर्वाचित भएका हुन् । दुवैले पुरुष प्रतिस्पर्धीलाई पछि पारेर निर्वाचित भएका हुन् । सहिदलखनकी वडाध्यक्ष थापाले पाँच सय ७२ मत पाएकी छन् । त्यस्तै, सिरानचोककी वडाध्यक्ष गुरुङले चार सय ४० मत प्राप्त गरिन् । वडाध्यक्ष पदमा निर्वाचित भएकोमा खुसी लागेको बताउँदै थापाले मुख्य गरेर महिलाको हकहित पक्षमा काम गर्ने योजना सुनाएकी छन् ।
मकवानपुर, गुल्मी, मुगु र हुम्लामा पनि पहिलोपटक महिला वडाध्यक्ष
मकवानपुर, गुल्मी र मुगुमा पनि पहिलोपटक महिला वडाध्यक्ष निर्वाचित भएका छन् । मकवानपुरको बकैया गाउँपालिका–१० मा कांग्रेसकी महिला उम्मेदवार कमला वाइबा वडाध्यक्ष निर्वाचित भएकी छन् । तीन सय ५० मतअन्तरले एमाले उम्मेदवार कमलबहादुर घलानलाई पछि पार्दै आठ सय १६ मतसहित गठबन्धनबाट उम्मेदवार वाइबा वडाध्यक्षमा निर्वाचित भएकी हुन् । गुल्मीको मुसिकोट नगरपालिका–९ मा पाँचदलीय गठबन्धनबाट कांग्रेसकी भुमा गुरुङ निर्वाचित भएकी छन् । उनी चार सय ६६ मतसहित विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी एमालेका रामकृष्ण कँडेलले तीन सय ८१ मत पाएका थिए । उक्त वडामा उनीसहित गठबन्धनको प्यानलै विजयी भएको छ ।
मुगुको छायानाथ रारा नगरपालिका–११ मा एकीकृत समाजवादीकी कुञ्जमा कुमाई वडाध्यक्ष निर्वाचित भएकी छन् । उनी जिल्लामै पहिलो महिला वडाध्यक्ष निर्वाचित भएकी हुन् । एक सय २९ मतसहित उनी वडाध्यक्षमा विजयी भएकी हुन् । कुल ४५ वडा रहेको जिल्लामा ०७४ को स्थानीय निर्वाचनमा महिलाले वडाध्यक्षको टिकट नै पाएका थिएनन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–४ मा रंगमति शाही वडाध्यक्ष निर्वाचित भएकी छन् । उनी कांग्रेसकी उम्मेदवार हुन् । वडाध्यक्षमा तीनजनाले उम्मेदवारी दर्ता गराए पनि मनोनयन फिर्ता लिएपछि गत १७ वैशाखमै उनी निर्विरोध भएकी हुन् । उनी हुम्लाबाटै पहिलोपटक वडाध्यक्ष बनेकी हुन् ।
कपिलवस्तुमा दुई महिला वडाध्यक्ष, दुवै दोहोरिए
हालसम्म जारी मतगणनाको परिणामअनुसार कपिलवस्तुमा दुई महिलाले वडाध्यक्ष जितेका छन् । शिवराज नगरपालिका–१० मा लोकतान्त्रिक समाजवादी पार्टीकी मञ्जु मिश्र निर्वाचित भइन् । सात सय चार मत ल्याएका कांग्रेसका उम्मेदवार देवराज भारतीलाई उछिनेर उनी सात सय ५९ मतसहित विजयी भएकी हुन् । यसअघि १४ मंसिर ०७६ को स्थानीय तहको उपनिर्वाचनमा पनि उनले वडाध्यक्ष जितेकी थिइन् । यशोधरा गाउँपालिका–३ को वडाध्यक्षमा नेपाली कांग्रेसकी सरिता त्रिपाठी विजयी भएकी छन् । एमालेका प्रतिस्पर्धी जीवनलाल कलवारलाई दुई सय एक मतले पछि पार्दै पाँच सय ७९ मतसहित उनी विजयी भएकी हुन् । उनी यसअघि पनि वडाध्यक्ष निर्वाचित भएकी थिइन् । दोस्रोपटक पनि उनी वडाध्यक्षमा निर्वाचित भइन् ।
तनहुँका दुई वडामा महिला वडाध्यक्ष
तनहुँका दुईवटा वडामा महिला वडाध्यक्ष निर्वाचित भएका छन् । भानु नगरपालिका–१ मा कान्छीमाया तामाङ र आँबुखैरेनी गाउँपालिका–४ मा मिलन भुजेल निर्वाचित भएका हुन् । दुवै कांग्रेसबाट चुनाव लडेका हुन् । तामाङ ६ सय ७२ मत ल्याएर वडाध्यक्षमा विजयी भएकी हुन् । उनले एमालेका प्रेमबहादुर लामालाई पराजित गरेकी छन् । भुजेल भने चार सय ३३ मतसहित विजयी भइन् । उनले माओवादी केन्द्रका उम्मेदवार नेत्रबहादुर मगरलाई पराजित गरेकी हुन् ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ मा सरस्वती कुलुङ राई वडाध्यक्ष निर्वाचित भएकी छन् । एमालेबाट उम्मेदवार उठेकी उनले अन्य प्रतिस्पर्धीलाई उछिनेर वडाध्यक्ष निर्वाचित भएकी हुन् । चितवनको माडी नगरपालिका–७ को वडाध्यक्षमा एकीकृत समाजवादीकी नेतृ चन्द्रा बानियाँ निर्वाचित भएकी छन् । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–७ को अध्यक्षमा एमालेकी भूमिसरा आले निर्वाचित भएकी छिन् । कांग्रेसका भुपराज पाठकलाई पछि पार्दै उनी वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।
काभ्रेको बनेपा नगरपालिका–८ मा कांग्रेसकी शुभलक्ष्मी मानन्धर अध्यक्ष निर्वाचित भएकी छिन् । एमालेका श्यामकाजी मानन्धरलाई ३९९ मतले पराजित गर्दै एक हजार ४४५ मतसहित उनी वडाध्यक्षमा निर्वाचित भएकी हुन् । सल्यानको शारदा नगरपालिका–३ मा कांग्रेसकी तुलसा भण्डारी विजयी भएकी छन् । कैलालीको जोशीपुर गाउँपालिका–३ को वडाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रेणुकुमारी डगौरा विजयी भएकी छिन् । कांग्रेसका उम्मेदवारलाई २२ मतले पछि पार्दै उनी विजयी भएकी हुन् । उनले ६ सय १५ मत ल्याएकी छन् ।
काठमाडौंमा तीन महिला वडाध्यक्ष
काठमाडौंमा तीनजना महिला वडाध्यक्ष निर्वाचित भएका छन् । टोखा नगरपालिका–६ मा कांग्रेसकी उम्मेदवार शान्ता खनाल एक हजार ७५ मतसहित विजयी भएकी हुन् । उनले प्रतिद्वन्द्वी एमालेका भगवान केसीलाई तीन सय ६ मतले पछि पार्दै वडाध्यक्ष जितेकी हुन् ।
बुढानिलकण्ठ नगरपालिका–९ मा एमालेकी सुमित्रा त्रिपाठी पाण्डे नौ सय ४८ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका गणेशकुमार कोइरालाले आठ सय ७५ मत ल्याए ।
कीर्तिपुर नगरपालिका–८ मा सानुमैया महर्जन निर्वाचित भएकी छन् । कांग्रेसबाट चुनाव लडेकी उनले पाँच सय ६५ मत ल्याइन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजेश महर्जनले चार सय ५७ मत ल्याए ।
दैलेखमा एकै दलका दुई महिला उम्मेदवार अध्यक्ष र उपाध्यक्ष निर्वाचित
दैलेखको भैरवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा महिला निर्वाचित भएका छन् । दुवैजना कांग्रेसबाट चुनाव लडेका हुन् । अध्यक्षमा रिता शाही र उपाध्यक्षमा देवी भण्डारी निर्वाचित भएका हुन् । अध्यक्ष शाहीले तीन हजार नौ सय ७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेका सर्वराज महताराले तीन हजार नौ सय ६० मत पाए ।
कांग्रेसबाटै चुनाव लडेकी उपाध्यक्ष भण्डारीले तीन हजार तीन सय ७४ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी पदमकुमारी विष्टले तीन हजार दुई सय २७ मत पाएकी थिइन् । ०७४ को निर्वाचनमा सोही गाउँपालिका–३ को वडाध्यक्षमा निर्वाचित भएकी उनी जिल्लाकै एक्ली वडाध्यक्ष थिइन् ।
यी महिला प्रमुख/अध्यक्षमा विजयी भए
खोटाङको जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा अरुणादेवी राई निर्वाचित भएकी छन् । माओवादी केन्द्रबाट उनले चुनाव लडेकी थिइन् । निर्वाचन आयोगका अनुसार राई दुई हजार आठ सय ८१ मतसहित विजयी भएकी हुन् । एमालेका उम्मेदवार शंकरबहादुर राईलाई तीन सय ६ मतान्तरले पराजित गरेर उनी अध्यक्षमा विजयी भएकी हुन् ।
त्यस्तै, सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको अध्यक्षमा मीना कार्की निर्वाचित भएकी छन् । मोरङको कानेपोखरी गाउँपालिकाको अध्यक्षमा एमालेकी राजमति इङ्गनाम विजयी भएकी छन् । कांग्रेसका सञ्जय भट्टराईलाई दुई हजार ९२९ मतले पराजित गर्दै उनी गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी हुन् । अध्यक्षमा निर्वाचित इङ्नामले आठ हजार ९७५ मत ल्याएकी छन् ।
चितवनको माडी नगरपालिकाको मेयरमा एमालेकी उम्मेदवार ताराकुमारी काजी महतो निर्वाचित भएकी छन् । नौ हजार ९०१ मतसहित उनी मेयरमा निर्वाचित भएकी हुन् । माओवादी केन्द्रका ऋषिराम काफ्लेलाई दुई हजार १०२ मतले पछि पार्दै उनी मेयरमा निर्वाचित भएकी हुन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी लक्ष्मी देवी पाण्डे निर्वाचित भएकी छन् । उनले ६ हजार ४५५ मत पाएकी छन् । उनले एमालेका चेतबहादुर रानालाई ७१४ मतले पराजित गरिन् ।
*यो समाचारमा नुवाकोटको म्यागङ गाउँपालिकाको अध्यक्षमा महिला निर्वाचित भएको भन्ने तथ्य गलत पर्न गएकोमा क्षमा माग्दै सच्याइएको छ । सम्पादक