झापाको हल्दिबारी गाउँपालिकामा राप्रपा विजयी भएको छ । गाउँपालिका अध्यक्षमा राप्रपाका रवीन्द्र लिङ्देन विजयी भएका हुन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ रवीन्द्रले ६ हजार आठ सय ५६ मत प्राप्त गरे । उनी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका डम्बर गिरीले चार हजार ६ सय ६६ मत प्राप्त गरे ।
यस्तै, गाउँपालिका उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली विजयी भएकी छिन् । उनले पाँच हजार ७८ मत प्राप्त गरिन् । उनकी निकटतम् प्रतिस्पर्धी एमालेकी शान्ता गौतमले चार हजार एक सय ६ मत प्राप्त गरिन् ।
०७४ को निर्वाचनमा यहाँ राप्रपाले अध्यक्ष मात्र जितेको थियो । यसपटक भने सुधार गरेको हो । हल्दिबारीमा दुईवटा वडा राप्रपा, कांग्रेस, माओवादी र एमालेले एक–एक वडा जितेको छ । हल्दिबारी राप्रपा अध्यक्ष लिङ्देनको गाउँपालिका हो ।