आठ महिनापछि एमालेले हटायो संसद्को अवरोध

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण
आठ महिनापछि एमालेले हटायो संसद्को अवरोध

फाइल फाेटाे ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गर्दै आएको अवरोध हटाउने भएको छ। एमाले सांसद प्रदीप ज्ञवालीले मंगलबारको प्रतिनिधिसभा बैठकमा आफ्नो भनाइ राख्दै एमालेले सदनमा व्यापक बहस हुनुपर्ने विषय रहेकाले विरोधको स्वरूपलाई परिवर्तन गर्ने जानकारी गराएका हुन्।

ज्ञवालीले मुलुकमा गहिरिँदो आर्थिक संकटलगायतबाट मुलुक राष्ट्रिय संकटमा परेको र यस विषयमा सदनमा छलफलका लागि एमालेले अवरोध हटाउने निर्णय गरेको सदनमा जानकारी दिए। यससँगै एमालेको अवरोधविना आजदेखि प्रतिनिधिसभा बैठक निरन्तर रूपमा सञ्चालन भइरहेको छ।

‘भदौ २३ देखि हामीले खास विषयसहित निरन्तर अवरोध गर्दै आइरहेका थियौँ। हाम्रो विरोध संविधानले परिकल्पना गरेको बहुदलीय व्यवस्थासँग नै जोडिएको थियो। सदनमा भिन्नभिन्न पार्टीलाई भिन्नभिन्न व्यवहार र दोहोरो मादण्ड देखाइएका विरोधाभासहरूको विरोधमा हामीले लगाातार आवाज उठाउँदै आयौँ,’ उनले भने, ‘सभामुखले दलले सांसदहरूलाई कारबाही गरेकाे सूचना नगरी सभामुखले दायित्व पूरा गर्नुभएन। यो विषय अदालतमा पनि पुग्यो, तर अझै फैसला भएन। यसबीचमा सदनमा हाम्रो विरोध जारी रह्यो, भर्खरै सम्पन्न निर्वाचनले जनताले उचित ढंगले फैसला गरेका छन्। यसलाई पनि शिरोधार्य गरेर हामीले मुलुक एउटा कोर्समा गइसकेको अवस्थामा हाम्रो विरोधलाई फरक ढंगमा प्रस्तुत गर्ने निर्णय गरेका छौँ।’

सुझावित समाचार