दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमाले प्रमुख र उपप्रमुखमा विजयी भएको छ। नगर प्रमुखमा नेकपा एमालेका लोमन शर्मा पाँच हजार चार सय ३६ मत प्राप्त गर्दै विजयी भएका छन् भने उपप्रमुखमा एमालेकै तप्ताकुमारी थापा पाँच हजार ६ सय ७३ मत ल्याएर विजयी भएकी छिन् ।
नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेसकी निर्मलाकुमारी खड्का (थापा) ले पाँच हजार तीन सय ५७ मत प्राप्त गरेकी छिन्। गठबन्धनबाट उपप्रमुखमा एकीकृत समाजवादीकी सावित्री मल्ल तीन हजार आठ सय ३८ मत ल्याएर पराजित भएकी हुन्।
सावित्री मल्ल नारायण नगरपालिका दैलेखको निवर्तमान नगर उपप्रमुख हुन्। ०७४ मा भएको स्थानीय तह निर्वाचनमा मल्ल एमालेबाट नगरपालिका उपप्रमुखमा विजयी भएकी थिइन्। नेकपा एमालेले दैलेखको नारायण नगरपालिकाका वडा नं. २, ३, ५, ६, ७ र १० वडामा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले वडा नं. १, ४, ८ र ११ मा विजय प्राप्त गरेको छ।
दैलेखका ११ वटा पालिकामध्ये नाैवटा पालिकाको मतपरिणाम आइसकेको मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछानेले जानकारी दिएका छन्।