डडेल्धुराको भागेश्वर गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका उम्मेदवार हेमराज चटौत दुई हजार तीन सय ११ मत प्राप्त गर्दै विजयी बनेका हुन्। उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामबहादुर शाहीलाई भारी मतका साथ पराजित गरेका हुन्। शाहीले एक हजार ७८ मत ल्याएका छन्। शाही चटौतसँग एक हजार दुई सय ३३ मतान्तरले पराजित भएका हुन्।
उपप्रमुखमा कांग्रेसकै पुष्पा ठकुराठी निर्वाचित भएकी छिन्। कांग्रेसकी ठकुराठीले दुई हजार तीन सय ४८ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले आठ सय ३२ मत मात्र ल्याउन सकिन्। उनीहरूबीच एक हजार पाँच सय १६ मतको अन्तर छ। पाँचवटा वडा रहेको भागेश्वरमा चार वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन्। एक वडामा भने स्वतन्त्र उम्मेदवारले जित हात पारेका छन्।
वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार मणिकराज भट्ट तीन सय ५४ मतका साथ विजयी भए। वडा नम्बर २ मा कांग्रेसका उपेन्द्र जोरा दुई सय ७० मतका साथ विजयी भए। कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर रहेको वडा नं ३ मा आठ सय ७६ मतका साथ कांग्रेसका डम्बरराज जोशी विजयी भएका छन्।
वडा नम्बर ४ र ५ मा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन्। ४ मा कांग्रेसका वसन्तराज चटौत ६ सय ४४ मतका साथ विजयी हुँदा ५ मा कांग्रेसका नरेन्द्र थापा दुई सय ७६ मतसहित विजयी भएका छन्। भागेश्वर नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको गृह पालिका हो।