दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्षमा कांग्रेसका रक्षबहादुर शाह र उपाध्यक्षमा नेकपा एमालेका देवीराम बडुवाल विजयी भएका छन् । कांग्रेसका रक्षबहादुर शाहले दुई हजार पाँच सय ७१ मत प्राप्त गरेर विजयी भएका छन् ।
गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार रहेकी लक्ष्मीदेवी शाहले दुई हजार दुई सय ७९ मत प्राप्त गरेकी छिन् । अध्यक्षमा पराजित शाह जिल्ला समन्वय समिति दैलेखको निवर्तमान उपप्रमुख हुन् ।
निर्वाचित रक्षबहादुर शाह ०७४ को स्थानीय तह निर्वाचनमा एमालेका धीरबहादुर शाहीसँग अध्यक्षमा पराजित भएका थिए । गाउँपालिका अध्यक्ष उम्मेदवार नेकपा माओवादी केन्द्रका उमेशकुमार रावतले एक हजार ६ सय १७ मत प्राप्त गरेका छन् ।
एमालेको तर्फबाट गाउँपालिका उपाध्यक्ष देवीराम बडुवालले दुई हजार ६ सय ९५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी कांग्रेसकी भद्राकुमारी शाहीले दुई हजार चार सय १६ मत प्राप्त गरेकी छिन् । नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष पदका उम्मेदवार बिजुकुमारी थापा रोकाय एक हजार ५७ मतमा ल्याएर पराजित भएकी छिन् ।
६ वडा रहेको ठाटीकाँध गाउँपालिकामा चार वडा कांग्रेस र दुई वडा एमालेले जितेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ठाटीकाँध गाउँपालिका– १ मा कांग्रेसका चक्र कामी, २ मा एमालेका प्रेमबहादुर मगर, ३ मा कांग्रेसका भरतबहादुर बम, ४ मा कांग्रेसका केहेरसिंह कठायत, ५ मा एमालेका लालबहादुर शाही र ६ मा कांग्रेसका जोरासिंह रोकाय क्षेत्री वडाध्यक्षमा निर्वाचित भएका छन् ।