तीन दाजुभाइ पालिका प्रमुख र वडाध्यक्षमा निर्वाचित

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

स्थानीय तह निर्वाचन ०७९ मा एकै परिवारका पाँच भाइमध्ये चार भाइ उम्मेदवार बन्दा तीन दाजुभाइ निर्वाचित भएको छ । भाइ गाउँपालिका  प्रमुख हुँदा दाजु भने वडाध्यक्षमा विजयी भएका छन् । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा विजयी भएका ज्ञानेन्द्र रुम्दाली स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव चिन्ह्र धारा लिएर मैदानमा थिए ।

गत निर्वाचनमा उनी बागी उम्मेदवार हुँदा कांग्रेसका उम्मेदवार पराजित भएका थिए । त्यसपछि पार्टीको कारबाहीमा परेका ज्ञानेन्द्रले यसपटक कांग्रेससँगै गठबन्धन गरेर उम्मेदवारी दिएका थिए । पाँच हजार २१ मत पाएर एमालेका रूपलाल तामाङलाई एक हजार दुई सय ६ मतान्तरले पराजित गरी विजयी भएका छन् ।  

उपाध्यक्ष पदमा ज्ञानेन्द्रकै कान्छा भाइ दीपेन्द्र जसपाबाट उम्मेदवार थिए । उनी दुई हजार एक सय ७३ मतले पराजित भए । यता मानेभञ्ज्याङ गाउँपालिका– १ को वडाध्यक्षमा कांग्रेसबाट दाजु राजकुमार रुम्दाली विजयी भएका छन् ।  माओवादी केन्द्रका सुजन रुम्दालीलाई ४३ मतान्तरले पराजित गरेका छन् । राजकुमार ०७४ मा पनि वडाध्यक्षमा विजयी भएका थिए । 

धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट जितेन्द्र रुम्दाली राई विजयी भएका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जितेन्द्र रुम्दाली पाँच हजार तीन सय ९९ मत पाएर विजयी भएका हुन्। उनले एमालेका कुमारजंग याक्खालाई पाँच सय ७१ मतान्तरले पराजित गरेका थिए । गत ०७४ को निर्वाचनमा याक्खासँग रुम्दाली पराजित भएका थिए । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार