रावाबेँसी गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा कांग्रेसका फटिककुमार श्रेष्ठ र उपप्रमुखमा एमालेकी कौशिला गुरुङ विजयी भएका हुन् ।
एमालेका हरिकुमार पोखरेलभन्दा एक सय ८६ बढी मत ल्याएर श्रेष्ठ गाउँपालिका प्रमुखमा विजयी भएको निर्वाचन अधिकृत लालबहादुर कार्कीले जानकारी दिए । उपप्रमुखमा विजयी गुरुङले दुई हजार दुई सय ५७ मत प्राप्त गरेको जनाइएको छ ।
उपप्रमुखमा विजयी गुरुङका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका लीलानारायण श्रेष्ठले दुई हजार एक सय २० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रावाबेँसीमा कांग्रेस र माओवादी केन्द्रको मात्र गठबन्धन थियो ।
६ वटा वडा रहेको रावाबेँसी गाउँपालिकाको वडा नम्बर ३ बाहेक सबैमा कांग्रेसका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।