पाँच दाजुभाइमध्ये चार उम्मेदवार : दुई गाउँपालिका अध्यक्ष, एक वडाध्यक्षमा निर्वाचित

मंगलबार, ३ जेठ, २०७९
डिजिटल संस्करण

ओखलढुंगाको मोलीका एकै परिवारका दुई दाजुभाइ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दाजुभाइ नै दुई फरक जिल्लाको फरक–फरक गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । 

दाजु जितेन्द्र रुम्दालीले धनकुटाको साँगुरीगढी गाउँपालिका र भाइ ज्ञानेन्द्र रुम्दालीले ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाबाट चुनाव जितेका हुन् । जितेन्द्र र ज्ञानेन्द्र सहोदर दाजुभाइ हुन् । ज्ञानेन्द्रले कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएर अध्यक्षमा विजय हासिल गरेका हुन् । उनले एमालेका रूपलाल तामाङलाई एक हजार दुई सय ६ मतान्तरले जितेका छन् ।

ज्ञानेन्द्रले पाँच हजार २१ मत ल्याउँदा एमालेका तामाङले तीन हजार आठ सय १५ मत प्राप्त गरेका हुन् । गठबन्धनको तर्फबाट धनकुटाको साँगुरीगढी गाउँपालिकामा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका जितेन्द्रले पाँच हजार तीन सय ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कुमारजंग याखाले चार हजार आठ सय २८ मत प्राप्त गरेका थिए । दुई आमाका पाँच दाजुभाइ पछिल्लो समय सबै राजनीतिमै सक्रिय छन् । 

दाजुभाइले नै गाउँपालिका अध्यक्ष जितिरहँदा उनीहरूकै दाजु राजकुमार रुम्दाली पनि मानेभञ्ज्याङ गाउँपालिका–१ को वडाध्यक्षमा विजयी भएका छन् । कांग्रेसको तर्फबाट उम्मेदवारी दिएर उनले मानेभञ्ज्याङ गाउँपालिकामा जित हासिल गरेका हुन् । उनीहरूका भाइ दीपेन्द्र रुम्दालीले मानेभञ्ज्याङ गाउँपालिकाको उपाध्यक्षमा हार बेहोर्नुपरेको छ ।

जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदारी दिएका दीपेन्द्रले दुई हजार सात सय ७७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा विजय हासिल गर्ने कांग्रेसकी आश्राचन राईले चार हजार सात सय ५० मत प्राप्त गरेकी छन् । पाँच दाजुभाइमध्ये जनता समाजवादीका नेता धीरेन्द्र रुम्दालीले भने यसपटक चुनाव लडेनन् । कांग्रेसका स्व. नेता बलबहादुर राईको नाति पर्ने रुम्दाली दाजुभाइ राजनीतिमा सक्रिय छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार