गोरखामा १९औँ सवा लाख रोट महोत्सव सुरु भएको छ । गोरखनाथ गुफामा सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा सोमबारदेखि रोट महोत्सव सुरु भएको हो । रोट महोत्सवको पहिलो दिन बाजागाजासहित गोरखा बजारबाट गोरखनाथ मन्दिरसम्म रथयात्रा गरिएको छ । सदगुरुदेव रथसहित बाजा, कलश, एक सय आठ कन्या, नाथयोगीहरू, भक्तजन र स्थानीयले प्लेकार्ड र ब्यानर बोकी र्यालीमा सहभागिता जनाएको केन्द्रका अध्यक्ष रामजी अर्यालले बताए ।
पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनको रूपमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले वैैशाख पूर्णिमादेखि ११ दिनसम्म रोट महोत्सव गरी रोट अर्पण गर्दै आएको छ । गोरखा दरबारमा चल्ने रोट महोत्सव कोरोना महामारीका दुई वर्षदेखि उल्लासमय हुन सकेको थिएन । कोरोनाको त्रास कम भएकाले अहिले विशेष रौनकसाथ महोत्सव मनाएको केन्द्रका अध्यक्ष अर्यालले बताए । यसपटक २० देखि २५ हजार भक्तजन रोट महोत्सवमा सहभागी हुने अपेक्षा आयोजकको छ ।
गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा भजन, कीर्तन, पूजापाठ गरी सयौँ भक्तजनको उपस्थितिमा रोट महोत्सव हुने सिद्धाश्रम शक्ति केन्द्र सम्पर्क कार्यालय गोरखाका संयोजक किशोरकुमार अकेलाले बताए । रोट महोत्सवले गोरखाको धार्मिक पर्यटनको विकासमा पनि मद्दत पुग्नेछ ।
गोरखनाथलाई रोट सबैभन्दा बढी मनपर्ने भएकाले रोट चढाएर खुसी बनाउन सके संकट नआउने धार्मिक विश्वास छ । महोत्सवको सबै दिन नियमित पूजाका साथै गोरखा दरबारपरिसरमा भजनकीर्तनको कार्यक्रम पनि सञ्चालन गरिने शक्ति केन्द्रको सम्पर्क कार्यालय गोरखाका नवीन श्रेष्ठले बताए ।
गहुँ, जौ र धेरैजसो चामलको पिठो रोट बनाउन प्रयोग गरिन्छ । विभिन्न ५२ थरीका शक्तिवर्धक मसला मिसाएर रोट बनाइन्छ । रोटमा जाइफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुँदो, नरिबल, किसमिस मिसाइन्छ । नाथहरू शुद्ध भई पिठोमा किसमिस मिसाएर रोटलाई ससाना गोली बनाउँदै घिउमा पोल्ने गर्छन् ।