धादिङको खनियाँबास गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार रणबहादुर तामाङ र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सेक्केमान तामाङ विजयी भएका छन् ।
गाउँपालिका अध्यक्षमा विजयी रणबहादुरले १,६०९ मतसहित विजयी भएका छन् । उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा पनि अध्यक्षमा विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार फुलबहादुर तामाङले १,३९६ मत ल्याएका छन् ।
त्यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका सेक्केमान तामाङले १,८२७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका मरियम तामाङले १,२२७ मत प्राप्त गरेकी छिन् ।
खनियाँबास गाउँपालिका वडा नं. १, २ र ३ मा राप्रपाका उम्मेदवारहरू क्रमशः सोनामबहादुर तामाङ, अरुणकुमार पाख्रिन, कमानसिंह तामाङ, वडा नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार लीलामान तामाङ र वडा नं. ५ मा नेकपा एमालेका उम्मेदवार रविनकुमार तामाङ विजयी भएका छन् ।