नुवाकोटका १२ स्थानीय तहमध्ये सोमबार साँझसम्म दुई पालिकाको मतगणना सकिएको छ । दुवै पालिकाकाका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । तादी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सन्तमान तामाङ निर्वाचित भएका छन् । अध्यक्षमा तामाङले ३ हजार २ सय ४१ मत ल्याएर निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका किरणकुमार रिजालले २ हजार ५ सय १८ मत ल्याएका छन् । तेस्रो भएका नेकपा एसका कृष्णप्रसाद लामिछानेले एक हजार ९ सय ४० मत ल्याएका छन् । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सन्जु प्याकुरेल विजयी भएकी छिन् । उनले तीन हजार तीन सय ९७ मत ल्याएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी ईश्वरी उप्रेतीले २७ सय ७८ मत ल्याएकी छिन् ।
वडाध्यक्षहरुमा १ मा नेपाली कांग्रेसका नकुरदोङ तामाङ, २ मा नेकपा माओवादी केन्द्रका बच्चुराम तामाङ, वडा नं. ३ मा नेपाली कांग्रेसका सोनाम थिङ तामाङ, वडा नं. ४ मा माओवादी केन्द्रका अस्विनकुमार पाण्डे, ५ मा नेकपा एमालेका सरोज भण्डारी र ६ मा माओवादी केन्द्रका शेरमान तामाङ निर्वाचित भएका छन् । पालिकामा सत्तासीन दलहरूबीच गठबन्धन भएको थिएन । २०७४ को निर्वाचनमा तादी गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको थियो ।
यस्तै, तारकेश्वर गाउँपालिकाको मतपरिणामअनुसार अध्यक्षमा कांग्रेसका शिव अधिकारीले ५ हजार ६ सय ६५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमेशबहादुर वस्तीले ३ हजार ३ सय ४१ मत ल्याएका छन् । वस्ती २०७४ सालमा एमालेबाट अध्यक्षमा विजयी भएका थिए ।
उपाध्यक्षमा माओवादीका हरिप्रसाद रिमालले ४ हजार ६ सय ५८ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कोपिता भट्टले ३ हजार ३ सय ९२ मत ल्याएकी छिन् । यो गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा कांग्रेस, माओवादी, नेकपा एसबीच गठबन्धन भएको थियो ।
वडाध्यक्षहरूमा १ मा नेपाली कांग्रेसका चक्रबहादुर तामाङ, २ मा नेकपा एमालेका शिव पनेरू, ३ मा कांग्रेसका सूर्यमान श्रेष्ठ, ४ मा नेकपा एमालेका हरिबहादुर पौडेल, ५ मा कांग्रेसका अशोक तामाङ र वडा नं. ६ मा नेकपा एमालेका नारायणप्रसाद रिमाल निर्वाचित भएको सहायक निर्वाचन अधिकृत राजु अधिकारीले जानकारी दिए ।
जिल्लाका अन्य स्थानीय तहमा मतगणना भइरहेको छ ।