स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका घनश्याम सुवेदी निर्वाचित भएका छन् । तीन हजार ८३६ मत प्राप्त गर्दै उनले गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार रहेका कांग्रेसका लक्ष्मीप्रसाद बराललाई पराजित गरेका हुन् । उनका प्रतिस्पर्धी कांग्रेसका बरालले तीन हजार ७०४ मत प्राप्त गरे । निवर्तमान अध्यक्षसमेत रहेका सुवेदी दोस्रोपटक पनि निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा एमालेकै देउकुमारी गुरुङ ‘चिजा’ निर्वाचित भएका छन् । उपाध्यक्षतर्फ नेकपा एमालेकी गुरुङले गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका शिवप्रसाद पराजुलीलाई एक हजार ५९९ मतको फराकिलो अन्तरले पराजित गरिन् । गुरुङले ३९७८ मत प्राप्त गर्दा पराजुलीले २३७९ मत प्राप्त गरे ।
उक्त गाउँपालिकामा कांग्रेसले चारवटा वडा जितेको छ । नेपाली कांग्रेसका उम्मेदवार ३ र ४ को वडाध्यक्षमा प्यानलसहित निर्वाचित हुँदा ५ मा भने वडाध्यक्षसहित ४ सदस्य विजयी भएका छन् । यस्तै वडा नं १ मा कांग्रेसका अमृत क्षेत्री निर्वाचित भए । यस्तै वडा नम्बर २ मा भने एमालेका अविलास गुरुङ प्यानलसहित निर्वाचित भए । फेदिखोलामा १२ हजार १६५ मतदातामध्ये ८ हजार १३९ मत खसेको थियो ।