सर्लाहीको हरिवन नगरपालिकाको एउटा वडामा एक मतले हारजित भएपछि विवाद सिर्जना भएको छ। विवादपछि अहिले मतगणना रोकिएको छ। हरिवन नगरपालिका–७, को वडाध्यक्षमा एक मत अन्तरले नेकपा एमालेका निरध्वज कार्की विजयी भएका थिए। उनले ३७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार टीकाजंग थापा ३७८ मतसहित पराजित भएका थिए।
एक मतको हारजितमा पुनः मतगणना गर्नुपर्ने माग नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूले राखेका छन्। तत्काल आफूहरूले पुनः गणनाको माग राख्दा पनि निर्वाचन अधिकृत रुद्रप्रसाद आचार्यले जबर्जस्ती पुन : मतगणना गर्न नपर्ने भन्दै एकतर्फी निर्णय गरिदिएको नेपाली कांग्रेसका जिल्ला सचिव निराजन कार्कीले जानकारी दिए।
निर्वाचन अधिकृत आचार्यले निष्पक्ष मतगणना नगराएको भन्दै परिवर्तन गर्न र हरिवन ७ नम्बर वडाको मत पुनः गणना गर्न माग गर्दै उनीहरूले दिउँसो केही बेर पूर्व-पश्चिम लोकमार्गअन्तर्गत हरिवनको कडरिया चोकमा नाराबाजीसहित टायर बालेर विरोध प्रदर्शन गरेका थिए। पहिला ७ मतले विजयी भएको भनिएका उमेदवारलाई पछि एक मतले हारेको घोषणा गर्नु र पुनः मतगणना गर्न नदिई बल प्रयोग गर्नु शंकास्पद भएको उनीहरूको आरोप छ।
१ मतको मतान्तर रहेकोले उक्त वडाको पुनः मतगणना गर्नुपर्ने उनीहरूको माग छ। तर, यता हरिवन नगरपालिकास्थित निर्वाचन अधिकृत आचार्यले पुनः मतगणना गर्नुपर्ने अवस्थमा नरहेको बताए। आफूले मत परिणाम सार्वजनिक गरिदिएपछि विजयी भएका र्यालीमा गएको र पराजित भएकाले पुनः मतगणनाको माग गरेकोले सम्भावना नरहेको उनको दाबी छ।
मतगणनामा कुनै शंका नरहेको दाबी गर्दै तर पनि आफूले निकै समय पर्खेर दुवै पक्षलाई सहमति गर्न भन्दा नभएपछि परिणाम सार्वजनिक गरिएको उनले बताए। यस्तो संवेदनशील कार्यमा कसैलाई असर पर्ने गरी नतिजा सार्वजनिक नगरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।