नेकपा (माओवादी केन्द्र) अछामले आफ्नो आधार इलाकामै नराम्रोसँग हार ब्यहोर्नुपरेको छ। तत्कालीन सशस्त्र द्वन्द्वकालदेखि नै आधार क्षेत्र मानिने रामारोशन गाउँपालिकामा यसपटक कांग्रेसले जितेको छ।
माओवादीका उम्मेदवार पहल साउँदलाई २३० मत अन्तरले पछि पार्दै कांग्रेसका मानबहादुर साउँद विजयी भएका हुन्। उनले तीन हजार १२७ मत ल्याएका छन् भने माओवादी उम्मेदवार साउँदको जम्मा दुई हजार ८९७ मत मात्रै छ।
२०७४ सालको निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष दुवै जितेको माओवादीले योपटक पनि उपाध्यक्षसहित तीन वडामा पूरै प्यानल जितेको छ भने गठबन्धनबाट अन्य दुई वडामा तीनजना सदस्य जितेको छ। त्योबाहेक अन्य कुनै पनि वडामा उसले वर्चश्व जमाउन सकेन। माओवादीकी उम्मेदवार सिर्जना बुढा (सुन्तली) तीन हजार २८ मतका साथ विजयी भएकी हुन्।
उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेबाट उपाध्यक्षका उम्मेदवार रहेकी वसन्ती साउँद दुई हजार ७२८ मत र कांग्रेस, एकीकृत समाजवादीका संयुक्त उम्मेदवार ताराप्रशाद खनाल दुई हजार १६२ मतका साथ पराजित भएका हुन्। यो गाउँपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादीका झंकर साउँद (भाष्कर) तीन हजार ४०२ मत ल्याएर विजयी भएका थिए।
उपाध्यक्षमा माओवादीकै सरस्वती रावलले तीन हजार २९० मतसहित जित हासिल गरेकी थिइन्। चुनावमा आफ्नो आधार क्षेत्र नै भत्किएपछि माओवादी पार्टीको जिल्ला नेतृत्वमाथि सामाजिक संजालमा अनेकथरी टिप्पणी हुन थालेको छ। अध्यक्ष पदका पराजित उम्मेदवार पहल साउँदले सामाजिक संजालमार्फत आफ्नै पार्टीका नेताहरूले चुनाव हराएको आरोप लगाएका छन्।
उनले विचारबाट स्खलित भएर आफ्नै पार्टीका नेताहरूले विपक्षीलाई जिताउने गरी षड्यन्त्र गरेका कारण पराजय भोग्नुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।