दैलेखको भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशबहादुर थापा र उपाध्यक्षमा नेपाली कांग्रेसकी मीना खड्का थापाले विजय प्राप्त गरेका छन्।
गाउँपालिका अध्यक्ष गणेशबहादुर थापाले नेपाली कांग्रेसका उम्मेदवार दशरथ खड्कालाई पराजित गर्दै विजयी भएका हुन्।
अध्यक्षमा निर्वाचित थापाले २ हजार ८ सय ४६ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका दशरथ खड्काले २ हजार २सय ३ मत ल्याएका छन्। नेकपा एमालेका शान्तिप्रसाद शर्माले १ हजार ९ सय ३४ मत प्राप्त गरेका छन्।
गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसका मीनाकुमारी थापा खड्काले ३ हजार ६ सय ८३ मत ल्याएर विजयी भएकी छिन्। नेकपा माओवादी केन्द्रका उम्मेदवार मनिषा सोनीले २ हजार २ सय ४७ मत प्राप्त गरेकी छिन्। नेकपा एमालेबाट उपाध्यक्ष पदका उम्मेदवार वसन्ता शाहीले १ हजार ९ सय २२ मत प्राप्त गरेकी छिन्।
दैलेखको भगवतीमाई गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको थियो भने नेपाली कांग्रेस र नेकपा एमाले एक्ला एक्लै चुनावमा भाग लिएका थिए।
११ वटा स्थानीय तह रहेको दैलेखमा हालसम्म ६ वटा गाउँपालिकाको मत परिणाम सार्वजनिक भएको छ। ६ स्थानीय तहमध्ये भैरवी र महावु गाउँपालिकामा नेपाली कांग्रेसले विजयी भएको छ। डुंगेश्वर र गुराँस गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। नौमुले र भगवतीमाई गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ।