इलामको सन्दकपुर गाउँपालिकामा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका तुलाराम गुरुङ गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। एमालेका उम्मेदवार उदय राईलाई पराजित गर्दै गुरुङ गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। निवर्तमान अध्यक्षसमेत रहेका राईले तीन हजार २५८ मत पाउँदा गठबन्धनका उम्मेदवार गुरुङले चार हजार २२३ मत ल्याएर विजयी भए।
उपप्रमुखमा गठबन्धनकै तर्फबाट नेकपा एकीकृत समाजवादीका हरिबहादुर लुंगेली मगर निर्वाचित भएका छन्। लुंगेलीले तीन हजार ६२६ मत प्राप्त गर्दा नेकपा एमालेबाट उम्मेदवार भएकी तुलसादेवी सेडाईले दुई हजार ९८६ मत पाएकी छिन्।
सन्दकपुरमा दुईवटा वडाध्यक्ष एमालेले जितेको छ। १ नम्बर वडामा रहरकुमार राई र ५ नम्बर वडामा यज्ञबहादुर गुरुङ निर्वाचित भएका छन्। वडा नम्बर २ मा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका सनम राई वडाध्यक्ष निर्वाचित भएका छन्।
वडा नम्बर ४ मा पनि गठबन्धनकै तर्फबाट जनता समाजवादी पार्टीका ढालबहादुर गुरुङ वडाध्यक्षमा निर्वाचित भएका छन्। वडा नम्बर २ मा भने नेपाली कांग्रेसका लीला बुर्जाले वडाध्यक्ष जितेका छन्।