चम्पादेवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नवराज केसी पुनः निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेको तर्फबाट अध्यक्षका उम्मेदवार खड्ग कार्कीलाई ५३ मतले पछि पार्दै केसी गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
०७४ को स्थानिय तहको निर्वाचनमा केसी चम्पादेवी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। केसीले ४,६१३ मत प्राप्त गरेका छन् भने कार्कीले ४,५६० मत प्राप्त गरेका छन्।
गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी दिलामाया निवार्वाचित भएकी छिन्। कांग्रेसकी कुसा मगरलाई २३७ मतले पछि पार्दै एमालेकी दिलामाया मगर उपाध्यक्षमा निर्वाचित भएकी हुन्। नेपाली कांग्रेसकी कुसा मगरले ४,४७८ र एमालेकी दिलामाया मगरले ४,७१५ मत प्राप्त गरेका छन्।
पालिकाको १० वडामध्ये सात वडामा नेपाली कांग्रेसले जितेको छ। बाँकी रहेको तीनमध्ये दुई वडा नेकपा एमाले र एउटा माओवादी केन्द्रले जितेको हो। वडा नं. १ कुलबहादुर श्रेष्ठ, २ मा विष्णु पुलामीमगर, ४ मा इन्द्र केसी, ५ मा मोहन तामाङ, ८ मा खड्गबहादुर बराल, ९ मा सुजन पौडेल र वडा नं. १० मा रोहितप्रसाद ढुंगेलले नेपाली कांग्रेस बाट वडाध्यक्ष जितेका छन्।
यसैगरी, वडा नं. ३ मा धनबहादुर श्रेष्ठ र ७ मा सुरेश थापाले नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका छन्। वडा नं. ६ आमोवादी केन्द्रका गणेश खत्रीले चुनाव जितेका छन्।
एक नगरपालिकासहित बाँकी रहेका चार गाउँपालिकाको मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ। जिल्लाको मोलुङ, खिजिदेम्बा, लिखु गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ।
सुनकोसी गाउँपालिकाको मतगणना कार्य अन्य पालिकाभन्दा ढिलो भइरहेको छ। उक्त पालिकाको १० वडामध्ये अहिलेसम्म चार वडाको मात्र मतगणना कार्य सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।