सिराहाको भगवानपुर गाउँपालिको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिकामा एमाले विजयी भएको छ। जनता समाजवादी पार्टीबाट निवर्तमान अध्यक्षसमेत रहेका बेचनप्रसाद यादवलाई १,०६३ मतान्तरले पछि पार्दै उग्र नारायण यादवले अध्यक्ष पद जितेका हुन्। अध्यक्ष पद जितेका उनले ४,३०२ मत ल्याएका छन् भने निकटतम् प्रतिद्वन्द्वी बेचनप्रसादले ३,२३९ मत ल्याएका छन्। भगवानपुरमा आठ स्वतन्त्रसहित १६ जना अध्यक्ष पदका प्रत्याशी थिए। 

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा एमालेकी रेखाकुमारी यादवले ३,९६० मत ल्याएकी छिन् भने निकटतम् प्रतिद्वन्द्वी जसपाकी जीवछीदेवी यादवले ३,२१० मत ल्याएकी छन्। उपाध्यक्ष पदमा रेखाले निकटतम् प्रतिद्वन्द्वीलाई सात सय ५० मतले पछि पार्दै जित निकालेकी हुन्। निर्वाचन अधिकृतको कार्यालय भगवानपुरले गणना गएिको अन्तिम मत रुजु गरी आयोगको वेबसाइटमा प्रविष्ट गरिरहेको जनाउँदै केहीबेरमा औपचारिक घोषणा गर्ने जनाएको छ। भगवानपुरमा एमालेले वडा नं १, २, ५ मा प्यानल तथा ५ मा वडाध्यक्ष जितेको छ। 

एमालेका जिल्ला सचिवसमेत रहेका ५० वर्षीय यादव पछिल्लो स्थानीय तहको निर्वाचनमा एमालेबाट अध्यक्ष पदमा निवर्तमान अध्यक्षसँग ८५ मतले पराजित भएका थिए। उक्त निर्वाचनमा निवर्तमान अध्यक्ष बेचनप्रसादले ३,०५८ मत ल्याएका थिए भने उनले २,९७३ मत प्राप्त गरेका थिए। एमालेले जिल्लाको १७ स्थानीय तहमध्ये भगवानपुरमा पहिलोपल्ट अध्यक्ष–उपाध्यक्षसहितका पदमा जित निकालेको हो। 

See More On

सुझावित समाचार