ओखलढुंगा चिसंखुगढी गाउँपालिकामा नेपाली कांग्रेस–माओवादी गठबन्धन विजयी भएको छ। अध्यक्षमा गठबन्धन तर्फका उम्मेदवार माओवादी केन्द्रका निशान्त शर्मा विजयी भएका हुन्।
निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अशोक थापालाई ५०७ मतले पछि पार्दै शर्मा अध्यक्षमा पुनः विजयी भएका हुन्।
शर्माले ३,१९८ मत प्राप्त गरेका छन् भने थापाले २,६९१ मत पाएका छन्। २०७४ को स्थानीय तहको निर्वाचनमा शर्मा तीन मतले अध्यक्षमा निर्वाचित भएका थिए।
गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका उपाध्यक्षका उम्मेदवार सन्तोषबाबु थापा चिसंखुगढी गाउँपालिकाको उपाध्यक्षमा विजयी भएका छन्। नेकपा एमालेको तर्फबाट उपाध्यक्षकी उम्मेदवार सुस्मिका राईलाई १,०६६ मतले पछि पार्दै थापा निर्वाचित भएका हुन्।
थापाले ३,११६ र राईले २,०५० मत प्राप्त गरेका छन्। राई यसअघि उपाध्यक्ष थिइन्। चिसंखुगढी गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो।
पालिकाको आठ वडामध्ये चार वडामा माओवादी केन्द्रले जितेको छ। वडा नं. १ उषक कटुवाल, २ मा नरेन्द्र बस्नेत, ५ मा नेत्र भट्टराई र वडा नं. ४ हिमाल राई माओवादी केन्द्रबाट विजयी भएका हुन्।
यसैगरी वडा नं. ६ मा र ७ मा नेपाली कांग्रेसका उम्मेदवार बलराम कटुवाल र मुघाधन राई विजयी भएका छन्। वडा नं. ८ मा नेकपा एमालेका उम्मेदवार सुशीलजंग कार्की वडाध्यक्षमा निर्वाचित भएका छन्। वडा नं. ३ मा वडाध्यक्षका उम्मेदवारहरूको मत बराबरी भएपछि पुनः मतगणना गरिएको छ।
अन्य पालिकाहरूको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाले जनाएको छ। जिल्लाको चम्पादेवी, मोलुङ र खिजिदेम्बा गाउँपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ।