बराहापोखरी गाउँपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

बराहपोखरी गाउँपालिकाको प्रमुखमा सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शालिकराम बन्जरा विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी एमालेकी गोमा मगरलाई आठ सय ५१ मतको फराकिलो अन्तरले पराजित गर्दै बञ्जरा गाउँपालिका प्रमुखमा विजयी भएका हुन् । 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी र नेकपा (एकीकृत समाजवादी) पार्टीको साझा उम्मेदवार बञ्जराले तीन हजार एक सय ८१ मत ल्याएर विजयी हुँदा मगरले दुई हजार तीन सय ३० मत ल्याएकी छिन् । चारदलीय गठबन्धनसँग एमाले एक्लै चुनावी मैदानमा उत्रिएको निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)का भूवलराज राईले दुई हजार पाँच सय ९४ मत ल्याएर उपप्रमुख विजयी भएका छन् ।

राईका निकटतम् प्रतिद्वन्द्वी एमालेका जीवनकुमार राईले दुई हजार दुई सय ९५ मत ल्याएर पराजित भएको निर्वाचन अधिकृत कोपिला राईले जानकारी दिइन् । वि.सं. ०७४ सालको निर्वाचनमा कांग्रेसबाट प्रमुखमा निर्वाचित बञ्जरा दोस्रो कार्यकालका लागि गठबन्धनबाट पुनः प्रमुखमा दोहोरिएका हुन् भने मगर एमालेबाट निर्वाचित उपप्रमुखबाट प्रमुखका लागि उम्मेदवार बनेकी थिइन् । 

६ वटा वडा रहेको यस गाउँपालिकाको वडा नं. १ बराहपोखरीमा कांग्रेसका ढकबहादुर कार्की, वडा नं. २ सुन्तलेमा माओवादीका पदम मगर, वडा नं. ३ साउनेचौरमा एमालेका ताराकान्त राई, वडा नं. ४ फाक्टाङमा कांग्रेसका सन्तोष आचार्य, वडा नं. ५ पौवासेरामा एमालेका फौदराज राई र वडा नं. ६ मौवाबोटेमा माओवादीका दुर्गाबहादुर राई विजयी भएका छन् । 
 

सुझावित समाचार