मानेभन्ज्याङकाे अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्वाचित, उपाध्यक्षमा कांग्रेसका राई

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसको समर्थनमा धारा चिन्ह्र लिएर स्वतन्त्र उम्मेदवार बनेका रुम्दाली र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राई एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् । 

अध्यक्षमा निर्वाचित रुम्दालीले नेकपा एमालेका उम्मेदवारलाई एक हजार दुई सय ६ मत अन्तरले पराजित गर्दै विजयी भएका छन् । रुम्दाली पाँच हजार २१ मत प्राप्त गरेर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्दी एमालेका रुपलाल तामाङले तीन हजार आठ सय १५ मत ल्याएका थिए । उपाध्यक्षमा निकटतम प्रतिद्वन्द्वी जसपाका दीपेन्द्र रुम्दालीलाई दुई हजार एक सय ७३ मतअन्तरले पराजित गर्दै राई चार हजार सात सय ५० मत प्राप्त गरेर विजयी भएका छन् । उपाध्यक्षमा रुम्दालीले दुई हजार पाँच सय ७७ मत ल्याएका छन् । 

मानेभन्ज्याङमा एमाले र जसपाले तालमेल गरेका थिए भने अध्यक्षमा कांग्रेसले स्वतन्त्रलाई सघाएको थियो । मानेभन्ज्याङ गाउँपालिका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा र नेकपा एमालेका केन्द्रीय सदस्य किशोर अधिकारीको बसोवास रहेको पालिका हो । यहाँका नौमध्ये ७ वडामा कांग्रेस र २ वटा वडामा एमालेले जितेको छ ।  

नेपाली कांग्रेसबाट वडा नं. १ मा राजकुमार रुम्दाली, वडा नं. २ मा राममणी राई, वडा नं. ४ विष्णु तामाङ, वडा नं. ५ मा रामकुमार राई, वडा नं. ६ मा हेमराज राई, वडा नं.७ विष्णुप्रसाद गौतम, वडा नं. ८ मा भीम बलाम्पाकी मगरले जितेका छन् । नेकपा एमालेबाट वडा नं. ९ मा पूर्णबहादुर मगर र वडा नं. ३ मा जितेन्द्र राईले जितेका छन् । २०७४ को निर्वाचनमा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा कांग्रेस, एउटा वडामा माओवादी र एउटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए । 
 

सम्पादकको रोजाइ

सुझावित समाचार