रोल्पाको गंगादेव गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हरिबहादुर पुन विजयी भएका छन् । निकै प्रतिस्पर्धात्मक भएको गंगादेवमा जम्मा ४९ मतान्तरमा कांग्रेसका पुन विजयी भएका हुन् । पुनले दुई हजार पाँच सय ४८ मत प्राप्त गरेका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रोशनकुमार वलीले दुई हजार चार सय ९९ मत प्राप्त गरी पराजय व्यहोरेका छन् ।
त्यस्तै, गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै अमृताकुमारी केसी दुई हजार नौ मतका साथ विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी निर्मलाकुमारी वलीले दुई हजार चार सय ४२ मत प्राप्त गरी पराजय व्यहोरेकी छिन् ।
अघिल्लो स्थानीय निर्वाचनमा जित हासिल गरेको नेकपा (माओवादी केन्द्र) भने तेस्रो भएको छ । माओवादीका तर्फबाट अध्यक्षका उम्मेदवार वीरबहादुर खत्रीले दुई हजार एक सय ५४ मत प्राप्त गरेका छन् । खत्री यसअघि गाउँपालिका अध्यक्ष थिए ।
त्यस्तै, विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यसमेत रहेका चूडामणि वलीले भने गाउँपालिका अध्यक्षमा एक हजार पाँच सय ७३ मत प्राप्त गरेका छन् । गंगादेवमा सात वडामध्ये पाँचवटामा कांग्रेसले जित निकालेको छ भने एमाले–माओवादीले एक–एक वडामा चित्त बुझाएका छन् ।