दोलखाको गौरीशंकर गाउँपालिकामा गठबन्धनको फराकिलो अग्रता

तीन वडामा माओवादी केन्द्र विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

यसअघि नेकपा एमालेले नेतृत्व गरेको दोलखाको गौरीशंकर गाउँपालिकामा यो पटक सत्ता गठबन्धनका उम्मेदवारहरुले  फराकिलो मतका साथ अग्रता कायम गरिरहेका छन् । निर्वाचन अधिकृतको कार्यालय गौरीशंकरका अनुसार हालसम्म ३ वटा वडाको मतगणना सम्पन्न हुँदा गठबन्धनका उम्मेदवारले फराकिलो अग्रता कायम गरिरहेका हुन् ।

३ वटा वडाको मतगणना सम्पन्न हुँदा माओवादी केन्द्रका ३ वटै वडामा प्यानलै विजय भएका छन् । सोही अनुसार पालिका अध्यक्ष र उपाध्यक्ष पनि गठबन्धनका उम्मेदवारहरु फराकिलो अन्तरका साथ अगाडि छन् ।नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार जंग बहादुर गुरुङले नौ सय ३५ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादीका विश्वास कार्कीले एक  हजार नौ  सय ६८ मत पाएका छन् । त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार मुना शिवाकोटीको एक हजार २२ मत हुँदा गठबन्धनका उम्मेदवार कांग्रेसका श्यामशुन्दर तामाङले एक हजार पाँच सय  ९९ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पुर्वसञ्चारमन्त्री पार्वत गुरुङको गृह गाउँसमेत रहेको गौरीशंकर गाउँपालिकामा एमालेले अहिलेसम्म खाता खोल्न सकेको छैन । निर्वाचन अधिकृतको कार्यालयका अनुसार हाल गौरीशंकर ४ को मतगणना चलिरहेको छ उक्त वडामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् भने अध्यक्ष उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवारहरुले मतान्तर बढाइरहेका छन् ।

पुर्वमन्त्री गुरुङको आफ्नै वडामा समेत एमाले उम्मेदवारलाई एमालेकै बागी उम्मेदवारका कारण हम्मेहम्मे पर्न सक्ने मतगणनामा सहभागी एक नेताले जानकारी दिए । उनका अनुसार पुर्वमन्त्री गुरुङको गृह वडा गौरीशंकर ५ सुरीमा एमालेकै बागी उम्मेदवारलाई  आफ्नो आधिकारिक उम्मेदवार भन्दै कांग्रेस र अन्य केही साना दलले सघाएका छन् । जसका कारण एमालेका आधिकारिक उम्मेदवारको मत काटिन सक्ने सुनाए । बाँकी वडामा पनि गठबन्धनका उम्मेदवाहरुको मतपरिणाम अगाडि हुनसक्ने स्थानीयहरुको अनुमान छ ।

सम्पादकको रोजाइ

सुझावित समाचार