सिराहा नगरपालिका मेयरमा एमाले र उपमेयरमा कांग्रेसको अग्रता

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

स्थानीय तह निर्वाचनअन्तर्गत सिराहा नगरपालिकाको विभिन्न वडामा जारी मतगणनाको सार्वजनिक भएको नजिताअनुसार नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेले नेपाली कांग्रेसका मेयर उम्मेदवालाई पछाडि पारेको छ।

सिराहा नगरपालिकाको मेयरमा नेकपा एमालेका डा. नवीनकुमार यादवले तीन हजार चार सय ३२ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उपेन्द्रकुमार यादवले तीन हजार एक सय ५७ मत प्राप्त गरेका छन् । जनता समाजवादी पार्टी नेपालका अशेश्वरप्रसाद यादवले दुई हजार सात सय १८ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीले एक हजार ८ सय ५५ मत प्राप्त गरेका छन् ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी सरिताकुमारी यादवले आफ्नो अग्रता कायम राखेकी छिन् ।  उनले तीन हजार एक सय २९ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेकी बबिताकुमारी साहले तीन हजार एक सय ६ मत पाएकी छिन् । जनता समाजवादीकी शशीमित्रा ऋषि माझी मुसहरले दुई हजार सात सय ८३ र नेकपा एकीकृत समाजवादीको रवीन्द्रकुमार साहले दुई हजार तीन सय २० मत पाएका छन् ।

सिराहा नगरपालिका वडा नम्बर १ मा जसपाका महेशकुमार यादव, वडा नम्बर २ मा नेपाली कांग्रेसका राकेशकुमार यादव, वडा नम्बर ३ मा नेकपा एमालेका प्रदीपकुमार मण्डल, वडा नम्बर १० मा नेकपा एमालेका दीपककुमार मुखिया, वडा नम्बर ११ मा जसपाका विनोदकुमार कामती, वडा नम्बर २१ मा स्वतन्त्र उम्मेदवार (कांग्रेसका बागी) सुरेन्द्रकुमार मण्डल र वडा नम्बर २२ मा नेकपा एकीकृत समाजवादीका जिवछनारायण यादव प्यानलसहित विजय भएका छन् । २२ वटा वडा रहेको सिराहा नगरपालिकाको वडा नम्बर १, २, ३, १०, ११, २१ र २२ को मतगणना सम्पन्न भइसकेको छ । वडा नम्बर ४, १२ र २० को मतगणना जारी  छ ।
 

सुझावित समाचार