अछामको कमलबजार र ढकारीमा कांग्रेस विजयी

सोमबार, २ जेठ, २०७९
डिजिटल संस्करण

अछामका दुई स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएको छ। कमलबजार नगरपालिका र ढकारी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका हुन्।

कमलबजारमा कांग्रेसका यज्ञप्रसाद ढकाल चार हजार दुई सय २८ मतका साथ नगरप्रमुखमा विजयी भएका हुन भने ढकारी गाउँपालिकामा कांग्रेसकै प्रकाशबहादुर साउँदले तीन हजार एक सय ८१ मतसहित अध्यक्षमा जित निकालेका हुन्। ढकारीमा कांग्रेसकै नेत्रकला शाही तीन हजार एक सय मत ल्याएर उपाध्यक्षमा विजय भएकी छिन् भने कमलबजार नगरपालिकामा नगरप्रमुख कांग्रेसले जिते पनि उपप्रमुखमा भने एमाले विजयी भएको छ। एमालेकी शारदा बिष्ट (कुँवर) चार हजार पाँच सय २८ मतसहित उपप्रमुखमा विजयी भएकी हुन्।

कमलबजारमा एमालेबाट नगरप्रमुख पदका उम्मेदवार कटकबहादुर साउदले चार हजार ६५ र कांग्रेसबाट उपप्रमुखको उम्मेदवार बनेकी गौरी विष्ट भण्डारीले तीन हजार ६४८ मत ल्याएकी छिन्। ढकारीमा एमालेका धर्म शाही दुई हजार पाँच सय ५५ मत र नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्ष पदका उम्मेदवार शेरबहादुर बुढाले एक हजार पाँच सय ९० मत ल्याएका छन्।

त्यहाँ उपाध्यक्षमा पराजित हुने एमालेकी मायादेवी बुढाले दुई हजार पाँच सय ७३ र एकीकृत समाजवादीकी देवकला खत्री चलाउनेले एक हजार पाँच सय ७८ मत पाएका छन्। कमलबजारमा दुई वडा कांग्रेस र एउटा स्वतन्त्र उम्मेदवारले वडाध्यक्षमा जिते भने अन्य सबै सातवटा वडा एमालेले जितेको छ। वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार भक्तबहादुर बोहरा विजयी भएका छन् भने वडा नम्बर २ र १० क्रमश ः कांग्रेसका दीर्घ टमट्टा र भीमबहादुर विष्टले जितेका छन्।

एमालेबाट जित्ने वडाध्यक्षहरूमा वडा नम्बर ३ मा नन्दसिंह कुँवर, ४ मा मीनबहादुर साउँद, ५ मा सत्यराज तिमिल्सिना, ६ मा लालबहादुर शाह, ७ मा प्रजा बोगटी र वडा नम्बर ९ मा कमलप्रसाद बजगाईं रहेका छन् ।

आठवटा वडा रहेको ढकारी गाउँपालिकामा चारवटा वडा कांग्रेस, दुईवटा एमाले र दुई वडामा एकीकृत समाजवादीले जितेको छ। जसमा वडा नम्बर १, ३, ५ र ८ मा क्रमशः कांग्रेसका उमा बुढा, चन्द्रबहादुर बुढा, कर्णबहादुर बुढा र उद्धवराज उपाध्यायले जिते भने एमालेबाट वडा नम्बर २ मा चन्द्र साउद र वडा नम्बर ७ मा रामबहादुर थापा विजयी भएका छन्। एकीकृत समाजवादीका तर्फबाट वडा नम्बर ४ बलातामा पहलवान थापा र वडा नम्बर ६ ढुंगाचाल्नामा प्रकाश थापा वडाध्यक्ष बनेका छन् ।

सम्पादकको रोजाइ

सुझावित समाचार