त्रिविले पनि आइतबार बिदा नगर्ने, प्याब्सनले दुई महिना मात्रै कार्यान्वयन गर्ने
१ जेठदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी घोषणाअनुसार आइतबार सरकारी कार्यालयहरू बन्द भए । तर, सरकारी अस्पतालहरू भने सञ्चालन भए । चिकित्सकहरूले सरकारी निर्णयको स्वागत गरे पनि अस्पताल प्रशासनले नागरिकको आधारभूत स्वास्थ्य सेवालाई मध्यनजर गर्दै आइतबार ओपिडी खुला गरेका हुन् ।
दुई दिन बिदा दिने–नदिने भन्ने विषयमा एक हप्ताअघि स्वास्थ्य मन्त्रालयमा छलफल भएको थियो । अधिकांश सहभागीले सरकारले नै निर्णय गरेकाले बिदा दिनुपर्ने बताएका थिए । तर, केही चिकित्सकले भने दुई दिन बिदा गर्दा तेस्रो दिन ओपिडी धान्न कठिन हुने, शल्यक्रिया, सिटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड र डायलाइसिसको समय महिनौँ पर धकेलिन सक्नेतर्फ सचेत गराएका थिए । त्यसपछि आइतबार ओपिडी सञ्चालन गर्ने निर्णय भएको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले बताए ।
देशका धेरै अस्पतालले आइतबार ओपिडी सञ्चालन गरेका छन् । काठमाडौंका ठूला त्रिवि शिक्षण, वीर, कान्तिबाल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ओपिडी खुला राखे । नरदेवी आयुर्वेद चिकित्सालयको ओपिडी पनि सञ्चालन भयो । यी अस्पतालमा दैनिक १५ सयदेखि दुई हजार बिरामी उपचारका आउँछन् ।
सातामा दुई दिन बिदा दिँदा अस्पताल सञ्चालन गर्नसमेत कठिन हुने अधिकारीहरू बताउँछन् । यसरी बिदा दिए विकास समितिमार्फत राखिएका कैयौँ जनशक्तिको रोजी–रोटी नै गुम्ने उनीहरूको भनाइ छ । सार्वजनिक बिदाको दिन सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदाको व्यवस्था गरिने अस्पतालहरूले जनाएका छन् ।
आइतबार बिदा दिने निर्णय कार्यान्वयनमा ल्याएका कार्यालयमा भने सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म कयम हुनेछ । तर, १६ कात्तिकदेखि १५ माघसम्म भने कार्यालय समय बिहान ९:३० बजेदेखि अपराह्न ४:३० बजेसम्म मात्रै कायम हुनेछ ।
त्रिविले आइतबार बिदा नगर्ने, प्याब्सनले दुई महिना मात्रै कार्यान्वयन गर्ने
सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालय र भक्तपुर नगरपालिकाभित्रका शैक्षिक संस्थाले तत्काल कार्यान्वयन नगर्ने भएका छन् । कोभिडले शैक्षिक क्यालेन्डर र सिकाइलाई असर पारेको भन्दै सही बाटोमा ल्याउन अर्को निर्णय नहुँदासम्म आइतबार पनि पढाउने निर्णय गरेका हुन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)ले भने सरकारको निर्णयलाई दुई महिनासम्म आत्मसात् गर्न सक्ने जनाएको छ ।
त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना जारी गरी अर्को सूचना जारी नगर्दासम्म साबिकबमोजिम नै आइतबारसमेत विश्वविद्यालयका सेवा सञ्चालनमा रहने जनाएको छ । त्रिविमा कोभिडका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिका पहिले नै निर्धारण भइसकेको तथा विश्वविद्यालय पाठ्यक्रमको संरचना ६ कार्यदिनलाई ध्यानमा राखेर निर्माण भएको हुँदा पठनपाठन, स्वास्थ्य सेवालगायत अन्य सेवालाई नियमित राख्ने जनाएको छ ।
प्याब्सनले सरकारको निर्णय दुई महिना मात्रै कार्यान्वयन गर्ने र त्यसपछि आइतबार पनि पढाउने सोच बनाएको छ । ‘हामीले एक सय ८० दिन पुर्याउन आइतबार पनि पढाउनुपर्छ, अहिले अप्ठ्यारो परेकाले सरकारलाई सपोर्ट गर्नुपर्छ,’ प्याब्सन अध्यक्ष डिके ढुंगानाले भने । कक्षाभार पुर्याउन पनि आइतबार पढाउनुपर्ने उनको भनाइ छ । प्याब्सनले आइतबार विज्ञप्ति निकालेर सरकारले गरेको अल्पकालीन परिस्थितिजन्य निर्णयलाई आत्मसात् गर्दै पाठ्यभारलाई फरक नपर्ने गरी शैक्षिक क्यालेन्डर संशोधन गरी कार्यान्वयन गर्न आग्रह गरेको छ ।
भक्तपुर नगरपालिकाले नयाँ जनप्रतिनिधि आएपछि निर्णय गर्ने
भक्तपुर नगरपालिकाले अर्को निर्णय नहुन्जेल आइतबार विद्यालय सञ्चालन गर्ने जनाएको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले आइतबार सामुदायिक तथा संस्थागत विद्यालयलाई जारी गरेको सर्कुलरमा भनेका छन्, ‘जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भए तापनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मका लागि साबिकबमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउनुहुन अनुरोध छ ।’ शाखा प्रमुख कर्माचार्यले सरकारको निर्णय लागू नगर्ने भन्ने उद्देश्य नरहेको र नयाँ जनप्रतिनिधि आएपछि निर्णय गर्ने भएकाले अहिले साबिकबमोजिम विद्यालय सञ्चालन गर्न स्पष्ट पारेको बताए ।