सोलुको थुलुङ दुधकोसी अध्यक्षमा माओवादी केन्द्रका राई विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

सोलुखुम्बुको थुलुङ दुधकोसी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी बनेका छन्। ९७८८ मत खसेको थुलुङ दुधकोसीमा ५ सय बढी मतान्तरसहित अध्यक्षमा असिम राई र करिब ३ सय मतान्तरले उपाध्यक्षमा सविता राई निर्वाचित भएका हुन्।

राईले ४०४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसका वीरबहादुर गुरुङले ३५११ मत पाए। एमालेका आङबाबु राई १६०१ म्तमा समेटिए। उपाध्यक्षमा सविता राईले ३८०० मत प्राप्त गर्दा कांग्रेसकी एकाकुमारी कार्कीले ३५२३ मत ल्याइन्। एमालेकी कल्पना गिरी १७४६ मतमा समेटिन्।

२०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट असिम राई र कांग्रेसबाट सविता राई पालिकाको नेतृत्वमा पुगेका थिए। उनीहरू दुवै दोस्रोपटक थुलुङ दुधकोसीको नेतृत्वमा दोहोरिएका छन्। विजयी बनेपछि अध्यक्ष राईले काम र जनसेवामा प्रतिबद्धता जनाएका छन्।

पालिकामा माओवादी केन्द्रको नेतृत्व आउँदै गर्दा ५ वडामा समेत जित निकालेको छ। वडा नं २, ५, ७, ८ र ९ मा माओवादी केन्द्रका वडाध्यक्ष निर्वाचित भएका छन्। काँगेलमा युजन बस्नेत, जुबुमा चन्द्र बहादुर राई, देउसा ७ भोजराज कार्की, देउसा ८ मा राजेश किराँती र लोखिममा सनकुमार तामाङ निर्वाचित बनेका छन्।

९ वडा रहेको थुलुङ दुधकोसीमा ४ वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नेलेमा घनराज सुनुवार विजयी भएका छन्। उनी २०७४ को निर्वाचनमा पनि अध्यक्षमा निर्वाचित भएका थिए। पन्चनमा इन्द्रमणि दाहाल (राजन), जुबु ४ मा श्याम गुरुङ, मुक्लीमा महेन्द्रदीप राई निर्वाचित भएका छन्। २०७४ को निर्वाचनमा काँगेलमा जित हात पारेको एमाले यो पटक रित्तो बनेको छ।
 

सम्पादकको रोजाइ

सुझावित समाचार