सर्लाहीको बागमती–१ र २ मा माओवादी केन्द्र विजयी

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

सर्लाहीको बागमती नगरपालिकाका दुई वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित विजयी भएका छन्। बागमती नगरपालिका–१ नम्बर वडामा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार एवं निवर्तमान वडाध्यक्ष गम्भीरसिंह पाख्रिन विजयी भएका छन्। पाख्रिनले १११५ मतसहित भारी मतान्तरले विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सीता थापाले ६२७ मत प्राप्त गरिन्। 

यस्तै बागमती नगरपालिका–२ नम्बर वडामा पनि माओवादी केन्द्रका उम्मेदवार टेकबहादुर बल ४७५ मतसहित विजयी भएका हुन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट उम्मेदवारी दिएका धनबहादुर जिम्बाले ४४५ मत मात्र प्राप्त गरी पराजित भए। यस वडाको महिला सदस्य पदमा नेकपा एमाले विजयी भएको छ।

यसैबीच बागमती नगरपालिकाको मेयर र उपमेयर पदमा पनि माओवादी केन्द्र अग्रस्थानमा देखिएको छ। माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रहेका निवर्तमान मेयर भरतकुमार थापा १७०८ मतसहित अग्रस्थानमा छन् भने नेकपा एमालेका उम्मेदवार टंकबहादुर बस्नेत (गोकुल) १०२९ मतसहित दोस्रो स्थानमा छन्। तेस्रो स्थानमा रहेको नेपाली कांग्रेसका मेयरका सुरजकुमार सुवेदीले १६१ मत प्राप्त गरेका छन्। 

यस्तै उपमेयरमा १५८० मतसहित माओवादी केन्द्रकी उम्मेदवार लीलाकुमारी मोक्तान अग्रस्थानमा रहेकी छिन् भने नेकपा एमालेकी उम्मेदवार सरिता घिसिङ १३२६ मतसहित दोस्रो र १८३ मतसहित नेपाली कांग्रेसकी उम्मेदवार पदमकुमारी अधिकारी तेस्रो स्थानमा छिन्। यस नगरपालिकामा मतगणना सुरु भएसँगै माओवादी केन्द्रले भारी मतान्तरले अग्रता कायम गरिरहेको हो। यस पालिकामा अहिले वडा नम्बर ४ र ५ को मतगणना भइरहेको छ।

See More On

सम्पादकको रोजाइ

सुझावित समाचार