पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा कांग्रेसको किल्ला तोड्दै नेकपा एमाले विजयी भएको छ । यहाँ गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित ४ वटा वडामा एमालेले जित हात पारेको छ ।
बौदीकाली गाउँपालिकामा नेकपा एमालेका प्रकाश ओझाले ३,९७६ मत प्राप्त गरेका छन् । ओझाका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्कबहादुर राना (केवी राना) ले ३,५४१ मत ल्याएका छन् । ओझा ४३५ मत अन्तरले विजयी भएका हुन् ।
त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेकी डिलकुमारी केसी सारु विजयी भएकी छिन् । उनले ३,९६२ मत प्राप्त गरेका छन् भने उनका निकतटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी धनकान्ती घिमिरेले ३,५०६ मत प्राप्त गरेका छन् । यसअघिको निर्वाचनमा बौदीकाली गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्षसहित ३ वटा वडामा जित हात पारेको थियो । अहिले कांग्रेसले दुई र एमालेले चारवटा वडामा जित हात पारेको छ ।
जिल्ला निर्वाचन कार्यालय नवलपुरका अनुसार बौदीकाली १, २, ३ र ५ मा नेकपा एमालेले जित हात पारेको छ भने ४ र ६ मा कांग्रेसले जितेको छ । बौदीकाली १ मा नेकपा एमालेका अनिल थापा मगर वडाध्यक्षमा विजयी भएका छन् । उनले ६०२ मत प्राप्त गरे भने नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार टोलनाथ कँडेलले ४६३ मत प्राप्त गरे । बौदीकाली १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको हो ।
त्यसैगरी, बौदीकाली २ मा नेकपा एमालेको श्यामसुन्दर श्रेष्ठको प्यानल विजयी भएको छ । श्रेष्ठले वडाध्यक्षमा १,१३५ मत प्राप्त गर्दा उनका निकतटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमराज ओझाले ७२५ मत प्राप्त गरे ।बौदीकाली ३ मा नेकपा एमालेकै तेजबहादुर थापाको प्यानल विजयी भएको छ । थापा वडाध्यक्षमा ६२० मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकतटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुलबहादुर ठाडा मगरले ५१९ मत प्राप्त गरे ।
बौदीकाली ४ मा नेपाली कांग्रेसका मनबहादुर सारुमगर वडाध्यक्षमा निर्वाचित भएका छन् । यहाँ वडाध्यक्षसहित कांग्रेस प्यानल नै विजयी भएको छ ।बौदीकाली ४ मा वडाध्यक्षमा कांग्रेसका मनबहादुर सारुले ८६८ मत प्राप्त गर्दा एमालेका मोहनबहादुर थापाले ३८६ मत प्राप्त गरे । बौदीकाली ५ मा भने नेकपा एमालेको प्यानल नै विजयी भएको छ । बौदीकाली पाँचमा वडाध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा खरुमगर विजयी भएका हुन् । उनले ४६२ मत प्राप्त गरी जित हात पारेका हुन् भने नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ओमबहादुर अस्लामी मगरले ३७४ मत ल्याए ।
त्यसैगरी, बौदीकाली गाउँपालिका ६ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । बौदीकाली ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका खुमकुमार सारुमगर विजयी भएका हुन् । उनले ७२१ मत प्राप्त गरी जित हात पारेका हुन् । त्यसैगरी उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्णबहादुर थापाले ६२१ मत प्राप्त गरे ।यसअघिको स्थानीय तह निर्वाचनमा कांग्रेसले १, ३ र ४ नेकपा एमालेले २, ५ र ६ नम्बर वडा जितेको थियो ।बौदीकाली गाउँपालिकामा ११ हजार चार सय ९७ मतदाता रहेकोमा ७,७६३ अर्थात् ६७ दशमलव ५२ प्रतिशत मात्र मत खसेको थियो ।