धनकुटाको चौबिसे गाउँपालिकाको तीनवटा वडामा नेकपा एमालेका उम्मेदवार प्यानल नै विजयी भएका छन् । पछिल्लो मतपरिणामअनुसार सो पालिकाको वडा नं. २, ३ र ४ मा एमालेको तर्फबाट उम्मेदवार बनेका वडाध्यक्षसहित प्यानल नै विजयी भएका हुन् । वडा नं. २ मा एमालेको तर्फबाट उम्मेदवार बनेका एनोज तुम्सा ७ सय ८० मत, वडा नं. ३ मा मदन तुम्सा ५ सय ४९ मत र वडा नं. ४ मा लोकेन्द्र थापामगर ३ सय ९४ मतसहित प्यानल नै विजयी भएका हुन् ।
जसमध्ये वडा नं. २ मा एनोजका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्र ममिन्द्र लिम्बूले ५ सय ६३ मत मात्र प्राप्त गरेका थिए । उनी ०७४ को निर्वाचनबाट सो वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए ।
त्यस्तै, वडा नं. ३ मा मदनको निकटतम् प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका गणेश लिम्बूले ३ सय १४ मत प्राप्त गरेका थिए भने वडा नं. ४ मा लोकेन्द्रको निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नगेन्द्र तामाङले एक सय ८२ मत ल्याएर पराजित भए । तामाङ अघिल्लो स्थानीय तहको निर्वाचनबाट सोही वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । यता महालक्ष्मी नगरपालिकाको वडा नं. २ मा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका पदम रखाल मगर ८ सय २६ मत सहित विजयी भएका छन् ।
उनले निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार धनबहादुर कुँवरलाई ४ सय ६१ फराकिलो मतान्तरले पछि पार्दै विजयी भएका हुन् । कुँवरले ३ सय ६५ मत मात्र प्राप्त गरे । त्यस्तै छथर जोरपाटी गाउँपालिकाको वडा नं. ६ मा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका दीपक गुरुङ विजयी भएका छन् । उनले ८ सय ५७ मत ल्याउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार निलबहादुर थापाले ५ सय ५७ मत मात्र प्राप्त गरे ।
त्यसैगरी पाख्रिबास नगरपालिका वडा नं. १ मा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भोगेन्द्र पाण्डे विजयी भएका छन् । वडाध्यक्षका उम्मेदवार पाण्डे ४ सय २३ मत सहित विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दुर्गाबहादुर थापाले २ सय ७९ मत मात्र प्राप्त गरे ।