निर्वाचनमा धाँधली भएको भन्दै कांग्रेस पक्षले बहिष्कार गरेपछि मोरङको रंगेली नगरपालिकामा मतगणना स्थगित भएको छ । वडा नम्बर ८ मा अध्यक्ष पदका कांग्रेस उम्मेदवारले सिल नगरिएका मतपेटिकाहरू रहेको भन्दै विवाद गरेपछि शनिबार राति ११ बजेदखि रंगेली नगरपालिकाको मतगणना स्थगित भएको हो ।
स्टोरमा राखिएका मतपेटिका हेर्न नदिएको भन्दै विवाद उत्पन्न भएर गणना स्थगित भएपछि रंगेलीस्थित जनता क्याम्पसको मतगणना केन्द्रमा शनिबार रातिदेखि नै प्रहरीको सुरक्षा गस्ती बढाइएको छ। रंगेली नगरपालिका निर्वाचन अधिकृत रामहरि काफ्लेले समस्यारे प्रशासन र निर्वाचन आयोगलाई राति नै जानकारी गराइसकेको र आयोगको निर्देशनअनुसार स्थगित भएको मतगणना सुरु गराउने बताए ।
मतदान अधिकृत काफ्लेका अनुसार ८ नम्बर वडाध्यक्ष पदका कांग्रेसका उम्मेदवारले शनिबार राति वडाबाट सिल नगरिएका मतपेटिकाहरू ल्याएको भन्दै स्टोर गरेर राखिएका मतपेटिका देखाउन माग गरेका थिए । तर, मतदान अधिकृत काफ्लेले क्रमश: गणना भइरहेकाले ८ नम्बरको गणना हुने क्रममा मात्र मतपेटिका हेर्न मिल्ने बताएका थिए । सोही क्रममा कांग्रेसका उम्मेदवार र कार्यकर्ताले स्टोर गरेर राखिएका मतेपेटिका हेर्न नदिएको भन्दै मतगणना बहिष्कार गरेका थिए ।
त्यसपछि सबै दलका गणक प्रतिनिधि नभएको भन्दै निर्वाचन कार्यालयले गणना स्थगित गराएको थियो । कांग्रेस पक्षले निर्वाचनमा धाँधली भएको भन्दै पुनः निर्वाचन गराउन माग गर्दैै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी पनि दिएको छ । यता, निर्वाचन अधिकृत रामहरि काफ्लेले आफूहरूको कुनै त्रुटि नभएको र सबै दलका प्रतिनिधि सहभागी नभएकाले तत्काललाई मतगणना स्थगित गरेको भन्दै जिल्ला प्रशासन र निर्वाचन आयोगलाई जानकारी गराएका छन् ।