जहाँ छ स्वतन्त्र र बागीको अग्रता

आइतबार, १ जेठ, २०७९
डिजिटल संस्करण

काठमाडौं महानगर, धनगढी र जनकपुर उपमहानगरलगायत केही स्थानीय तहमा एमाले, कांग्रेस र माओवादीजस्ता ठूला दलका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र र बागी उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् 

प्रारम्भिक चुनावी परिणाममा केही स्थानीय तहको मेयरमा स्वतन्त्र र बागी उम्मेदवारले अग्रता लिएका छन् । काठमाडौं महानगर, धनगढी र जनकपुर उपमहानगर, धुलिखेल, बर्दिबास र कन्काई नगरपालिकामा एमाले, कांग्रेस र माओवादीजस्ता ठूला दलका उम्मेदवारलाई स्वतन्त्र र बागी उम्मेदवारले पछि पारिरहेका छन् । शनिबार मध्यरातिसम्मको मतगणनामा काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन साहले सत्तागठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंह र एमाले उम्मेदवार केशव स्थापितलाई पछि पारेर चुनौती दिएका छन् । सुरुदेखि पहिलो नम्बरमा रहेका बालेनले अग्रता कायमै राखेका छन् । पेसाले इन्जिनियर बालेन र्‍यापर पनि हुन् । 

सुदूरपश्चिमको राजधानी धनगढी उपमहानगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुदेखि दोब्बरभन्दा बढी मतान्तरले ठूला दलका उम्मेदवारमाथि अग्रता लिँदै आएका छन् । उनको मुख्य प्रतिस्पर्धा गठबन्धनबाट कांग्रेस उम्मेदवार नृपबहादुर वडसँग छ । यसअघि ०७४ मा पनि हमाल र वडबीच तीव्र प्रतिस्पर्धा भएको थियो । वडले झिनो मतान्तरले जितेका थिए । हमाललाई ‘सुन्दर सुदूरपश्चिम अभियान’ले लोकप्रिय बनाएको थियो । 

कांग्रेसको निर्णयमा असन्तुष्टि जनाउँदै पार्टीका आधिकारिक उम्मेदवारलाई नै चुनौती दिएर जनकपुर उपमहानगरको मेयरमा बागी उम्मेदवार बनेका मनोजकुमार साह सुडीले दोब्बरभन्दा बढी मतान्तरले अग्रता लिएका छन् । सत्तागठबन्धनले जसपाका लालकिशोर साहलाई उम्मेदवार बनाएपछि असन्तुष्ट सुडीले पार्टी परित्याग गरेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, प्रारम्भिक नतिजामा भने सुडीको निकट प्रतिद्वन्द्वीका रूपमा एमालेका शिवशंकर साह देखिएका छन् । 

काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा पनि कांग्रेसका बागी उम्मेदवार विदुरबहादुर बस्नेतले अग्रता लिएका छन् । चुनावी तालमेलका क्रममा गठबन्धनले एकीकृत समाजवादीका दयासागर श्रेष्ठलाई टिकट दिएपछि बस्नेतले बागी उम्मेदवारी दिएका थिए । प्रारम्भिक नतिजामा बस्नेतसँग एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जू निकट प्रतिस्पर्धामा छन् ।महोत्तरीको बर्दिबास नगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवार प्रह्लादकुमार क्षेत्रीको अग्रता छ । एमाले उम्मेदवार टेकबहादुर बलम्पाकीले उनलाई पछ्याइरहेका छन् । 

झापाको कन्काई नगरपालिकामा समेत कांग्रेसकै बागी उम्मेदवार शेरबहादुर थापाले पनि मतान्तर बढाउँदै अग्रता कायम गरेका छन् । पार्टीले टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका थिए । प्रतिस्पर्धामा एमालेका राजेन्द्रकुमार पोखरेल दोस्रो नम्बरमा छन् । कांग्रेसका आधिकारिक उम्मेदवार रुद्रप्रसाद चिमरिया तेस्रो नम्बरमा छन् । 

सम्पादकको रोजाइ

सुझावित समाचार