दमक १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरमा गठबन्धन हराउँदै दमक– १ बाट एमालेले विजयी सुरुवात गरेको हो । एमालेका हरि न्यौपानेले वडाध्यक्षमा विजयी भए ।
उनले एक हजार ६ सय ८६ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी ताराप्रसाद अधिकारी एक हजार ६ सय २४ मत प्राप्त गरे । उनी यसअघि दमक– १ को वडाध्यक्ष थिए । ०७४ मा राप्रपा एक्लै प्रतिस्पर्धा गर्दा पनि उसले जित निकालेको थियो । यसपटक राप्रपा, कांग्रेस र माओवादी मिल्दा पनि कमजोर देखिएको छ ।
यस्तै, नगर प्रमुख पदमा पनि एमालेको अग्रता कायमै छ । वडा नम्बर १ को मत गणना गरिसक्दा एमालेको तर्फबाट प्रमुखको उम्मेदवार गीता अधिकारीले एक हजार सात सय ३२ मत पाएकी छिन् । गठबन्धनका तर्फबाट राप्रपाका राम थापाले एक हजार ६ सय ४८ मतका साथ पछ्याइरहेका छन् ।
उपप्रमुखमा भने गठबन्धन अगाडि छ । गठबन्धनका तर्फबाट कांग्रेसकी रेगिना भट्टराईले एक हजार ६ सय ४० मत पाएकी छिन् । यस्तै, उपप्रमुखमा एमालेका अम्बिका खनालले एक हजार पाँच सय नाै मतका साथ पछ्याइरहेका छन्।