रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा मतगणना सुरु

शनिबार, ३१ बैशाख, २०७९
डिजिटल संस्करण

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा मतगणना सुरु भएको छ । सबै वडाबाट मतपेटिका संकलन हुन समय लागेका कारण ढिलो गरी मतगणना सुरु भएको हो । वडा नम्बर ९ को राडीमा रहेको नगरपालिकाको हलमा गणना सुरु भएको हो । 

वडा नम्बर १ बाट गणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नम्बर १, २, ३, ४, ५, ६ लगायतका वडाबाट मतपेटिका आइपुग्न ढिलाइ भएको थियो । 

नगरपालिकामा १४ वटा वडा रहेका छन् । जिल्लाका ६ स्थानीय तहमध्येमा अब बाँफिकोट गाउँपालिकामा मतगणना सुरु हुन बाँकी छ । दलीय सहमति नहुँदा मतगणना सुरु हुन नसकेको बताइएको छ । कांग्रेसका अध्यक्षका उम्मेदवार जनकुमार बाँठाले प्रयोग गरेको गाडीले एकजना मतदातालाई ठक्कर दिँदा मृत्यु भएपछिको घटनाकै कारण मतगणनामा ढिलाइ भएको हो । 

वडा नम्बर ७ को ढारवाङ मतदान केन्द्रमा मतदानका लागि पुगेका ६० वर्षीय पर्जे खत्रीको बाँठाले प्रयोग गरेको गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो ।

सुझावित समाचार