पोखरा महानगरपालिकामा मतगणना दुई बजेबाट सुरु हुने भएको छ। सर्वदलीय बैठक बसेर दुई बजेबाट मतगणना गर्ने निर्णय गरेको प्रमुख निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए । ८ खाल गरेर मतगणना हुने प्रमुख निर्वाचन अधिकृत भट्टराईले जानकारी दिए। मतगणना पोखरा नगर विकास समिति र जिल्ला समन्वय समितिका हलमा हुने उनले बताएका छन् ।
नगर विकास समिति र जिल्ला समन्वय समितिको हलबाहिर दलका नेता र समर्थकहरूको भिड लागेको छ। पोखरामा गठबन्धनको तर्फबाट मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवार कृष्ण थापा छन्। उनीहरुबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।
गठबन्धन र एमाले दुवै पक्षले आफ्नो जित निश्चित रहेको बताएका छन्। मेयरमा मात्र आचार्य र थापासहित २३ जनाको प्रतिस्पर्धा छ। उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेसकी कोपिला रानाभाट र एमालेकी मञ्जु गुरुङका बीचमा मुख्य प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। उपमेयरमा आठजनाका बीचमा प्रतिस्पर्धा छ ।