उदयपुरको आठ स्थानीय तहमध्ये छ वटामा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत दीपक खनालका अनुसार त्रियुगा नगरपालिका र कटारी नगरपालिका बाहेकका अन्य चार गाउँपालिका र तीन नगरपालिकामा मतगणना सुरु भएको हो । खनालले भने, ‘सोरुङबाट मतपेटीका कटारी नगरपालिकाको निर्वाचन कार्यालय आइपुगेको छैन्, यता त्रियुगा नगरपालिका १२ मा रहेको जनप्रेमी आधारभूत विद्यालयको मतदान केन्द्रमा विवादको कारण रोकिएको छ ।’
कटारी नगरपालिका १० मा रहेको कालिका माध्यमिक विद्यालय सोरुङको मतदान केन्द्रमा अराजक समूहले मतपेटीका कब्जा गर्न खोजेपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो ।
बेलका नगरपालिकाका निर्वाचन अधिृकत जनकराज पन्तका अनुसार वडा नम्वर १ र ९ बाट गणना सुरु भएको छ । ‘बेलकामा जम्मा २१ हजार २ सय ६६ मत खसेको छ, दुवै वडामा जम्मा ६ सय मत गणना भएको छ ।’ चौदण्डीगढी नगरपालिकाको वडा नम्वर १ बाट गणना सुरु भएको छ । खनालले भने, ‘गतगणना सुरु भएका पालिकाको मत परिमाण सार्वजनिक गर्न एकद्वारा प्राणलीको व्यवस्था गर्ने तयारी गरेका छौँ ।’
ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा गएराती देखिनै मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय उदयपुर खेमराज कोइरालाले जानकारी दिए । ‘उनले भने, ‘मतगणना स्थललाई व्यवस्थित र सुरक्षित बनाएर गणना सुरु गरिएको छ ।’
उदयपुरगढी र रौतामाई गाउँपालिकामा सर्वदीय बैठक बसेर मतगणना गर्ने तयारी भएको दुबै पालिकाका निर्वाचन अधिकृतहरुले जानकारी दिएका छन् । उदयपुरमा जम्मा एक लाख ४० हजार ८ सय मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।