लाङटाङबाट मतपेटिका शनिबार मात्र ल्याइने

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङबाट मतपेटिका शनिबार मात्र सदरमुकाम धुन्चे ल्याइने भएको छ । स्थानीय तहको निर्वाचनको क्रममा शुक्रबार भएको मतदानको मतपेटिका  शनिबार मात्र सदरमुकाम धुन्चे ल्याइने भएको हो । 

जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार लाङटाङको मतपेटिका शनिबार मात्रै सदरमुकाम धुन्चे आइपुग्ने भएको हो ।  पहिले हेलिकाेप्टरबाट मतपत्र ढुवानी गर्ने तयारी गरिए पनि पछिल्लो समय मान्छेले नै मतपेटिका ढुवानी गर्नका लागि सर्कुलर भएअनुसार शनिबार मात्रै मतपेटिका ल्याइने भएको हो । 

मतदानको मतपेटिका लाङटाङ प्रहरी चौकीमा सुरक्षित राखिएको र शनिबार बिहानै सदरमुकाम ल्याइने तयारी भइरहेको लाङटाङ क्षेत्रको मतदान गराउन खटिएका मतदान अधिकृत गोपी विश्वकर्माले बताए । ‘लाङटाङ प्रहरी चौकीमा सुरक्षा कडाइका साथ मतपेटिका  राखिएको छ, शनिबार बिहानै सुरक्षा कडाइका साथ सुरक्षित रूपमा मतपेटिका लिएर सदरमुकाम आउँछौँ,’ उनले भने । 

लाङटाङको मतपेटिका ल्याएपछि  गोसाइँकुण्ड गाउँपालिकाको मतगणना सुरु हुने निर्वाचन अधिकारी थापाले जानकारी दिए । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४, लाङटाङमा ८३.१९ प्रतिशत मत खसेको छ ।

यस वडामा ३ सय ६३ मतदाता थिए । जसमा ३ सय २ मत खसेको हो । त्यहाँ एक सय ६२ पुरुष र एक सय ४० महिलाले मतदान गरेका छन् । शान्तिपूर्ण तरिकाले मतदान सकिएको र मतदानपश्चातका कार्य जारी रहेको मतदान अधिकृत गोपी विश्वकर्माले बताए । उनका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य भएको थियो । गोसाइँकुण्ड गाउँपालिका–४ स्थित सामुदायिक भवनमा मतदान केन्द्र राखिएको थियो । निर्वाचन गराउनका लागि चारसदस्यीय टोली लाङटाङ गएको थियो । 

सुझावित समाचार