नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको दाबी गरेका छन् । शुक्रबार स्थानीय तह निर्वाचन २०७९ को अवसरमा भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मतदान केन्द्रबाट भोट हाल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
मतदानपछि सञ्चारकर्मीसँग बोल्दै उनले प्रधानमन्त्री देउवाले गत वैशाख ९ गतेसम्म पनि औपचारिक रूपमा वैशाख ३० बाट चुनाव सार्ने प्रस्ताव गरेको बताए । उनले आफ्नो अस्वीकारले सहमति नमिलेपछि चुनाव तोकिएकै समयभित्र भएको बताए ।
अध्यक्ष ओलीले देश मुलतः दुईदलीय प्रणालीतर्फ गएको बताए । दुईदलीय प्रणालीमा एकातर्फ एमाले र अर्कोतर्फ कांग्रेसहितका दलहरू रहेको बताए । अध्यक्ष ओलीले नेपाली कांग्रेस पार्टी अब वडा तहमा समेत एक्लै लड्न नसक्ने स्थितिमा रहेको बताए ।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा जनताको सहभागिता उल्लेख्य र उत्साहजनक रहेको बताए । उनले केही स्थानमा लोकतन्त्रको मूल्यमान्यताविपरीत गठबन्धनले आक्रमणका घटनाहरू गरिरहेको बताए । अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) तर्फ लक्षित गर्दै अहिले पनि केही स्थानमा २०६४ मा झैँ बुथ कब्जा गरेर जित्नका लागि विभिन्न आक्रामक गतिविधि गरिरहेको आरोप लगाए । उनले नेपाली कांग्रेस र नेकपा माओवादीले यस्ता अवाञ्छित गतिविधि गरिरहेको बताए ।
अध्यक्ष ओलीलले स्थानीय तहको निर्वाचनले अपेक्षित परिणाम ल्याउनेमा विश्वस्त रहेको बताए । उनले नेकपा एमालेले भनेको परिणामसँग डराउनेहरूले अवाञ्छित क्रियाकलाप गरिरहेको बताए । स्थानीय तहको निर्वाचन आज देशभर एकसाथ भइरहेको छ । आममतदातादेखि विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आफ्नो स्थानीय तहमा पुगेर मतदान गरिरहने क्रम चलिरहेको छ ।