रुकुम पूर्वको एक मतदान केन्द्रमा मध्याह्नबाट मात्र मतदान सुरु भएको छ । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को पेल्मा प्रावि मतदान केन्द्रमा मध्याह्न १२ः०५ बाट मतदान सुरु भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ । बिहान ७ बजेबाटै मतदान सुरु हुनुपर्ने भए पनि दलीय सहमति नहुँदा मतदान सुरु हुन ढिलाइ भएको जिल्ला निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए ।
दलीय सहमतिमार्फत मध्याह्न १२ बजेर ५ मिनेटबाट मतदान सुरु भएको र अहिले धमाधम मतदान भइरहेको उनले बताए । बिहीबार दलका नेता तथा कार्यकर्ताबीच झडप भएको र उक्त विवादका कारण आज दलीय सहमति नजुट्दा ढिलो गरी मतदान सुरु भएको जिल्ला निर्वाचन अधिकारी ओलीले बताए । उक्त मतदान केन्द्रमा ४ सय ९२ मतदाता रहेका छन् ।