महोत्तरीमा झडप साम्य पार्न हवाई फायर

शुक्रबार, ३० बैशाख, २०७९
डिजिटल संस्करण

महोत्तरीको बलवा नगरपालिका–५ स्थित एक मतदान केन्द्रमा विवादले झडपको रूप लिएपछि प्रहरीले एक राउन्ड गोली चलाएको छ। प्रहरीले मंसिफ महावीर आधारभूत विद्यालयस्थित मतदानस्थलमा एक राउन्ड हवाई फायर गरी भिड तितरबितर पारेको हो।

करिब १० बजे भएको उक्त घटनाले ३० मिनेट जति मतदान रोकिएकोमा भिड तितरबितरपछि मतदान पुनः सुरु भएको प्रहरीले जनाएको छ। जसपाबाट वडाध्यक्षका उम्मेदवार धर्मेन्द्र यादवले जबर्जस्ती मतदान केन्द्रमा छिरी पार्टी प्रतिनिधिहरू हेरफेर गरेको विषयमा विवाद भएको हो। वडाध्यक्षका उम्मेदवार यादवले मतदाता नामावली नियन्त्रणमा लिई च्यातेपछि झैझगडा हुँदा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रहरीले जनाएको छ।
 
मतदान अधिकृत मनोजकुमार साहले अहिले मतदान शान्तिपूर्ण तरिकाले भैरहेको बताएका छन्। उनले कुन कुन दल वा व्यक्तिबीच झगडा भएको भन्ने जानकारी नरहेको बताए। यता, महोत्तरीका एसपी कृष्णप्रसाद पंगेनीले घटनाबारे अनुसन्धान गरिने बताए।

सम्पादकको रोजाइ

सुझावित समाचार