पाँचपालिका रहेको कास्कीमा स्थानीय तहको निर्वाचनको मतदानका लागि एक सय ५० मतदान स्थल र तीन सय ३६ मतदान केन्द्र रहेका छन् । निर्वाचन सम्पन्न गर्न कास्कीमा कर्मचारी र सहयोगी गरी दुई हजार ६ सय ८८ जना खटिएका प्रदेश निर्वाचन कार्यालय गण्डकीका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए । कास्कीमा दुई लाख ८१ हजार आठ सय ३३ जना मतदाता छन् ।
पोखरा महानगरपालिका–६ स्थित अन्नपूर्ण आधारभूत विद्यालयको मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिएको पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार सो मतदान स्थलमा एउटा मात्र केन्द्र रहेको छ भने एक हजार ४३ जना मतदाता रहेका छन् ।
जिल्ला अदालत कास्कीमा कार्यरत शाखा अधिकृत सबिता ढुंगानाकाे नेतृत्वमा कर्मचारीदेखि सहयोगी र स्वयंसेवक सबै महिला मात्र खटिएका छन् । सहायक मतदान अधिकृतको रूपमा प्रदेश निर्वाचन कार्यालयका नासु शर्मिला रानाभाट रहेकी छिन् । केन्द्रमा खटिएका सहायक कर्मचारीहरूमा कास्की जिल्ला अदालतकी डिट्ठा कविता खनाल र पोखरा महानगरपालिकामा कार्यरत सहायक चौथौ प्रतिभा गौतम रहेका छन् ।
जिल्ला अदालतकी मनमाया कुमाल सहयोगी रूपमा रहेकी छिन् । त्यसैगरी विद्यालयका शिक्षिकाद्वय अञ्जु गुरुङ र अनिता दलार्मीसँगै सामना सुवेदी गरी तीनजना स्वयंसेवकसमेत महिला रहेका छन् ।
केन्द्रको नेतृत्व गरेकी ढुंगाना मतदानमा खटिएको यो दोस्रोपटक हो । उनी यसअघि ०७४ सालमा भएको निर्वाचनमा म्याग्दीमा सहायक भएर काम गरेकी थिइन् ।
यसपटक कास्की जिल्लामै केन्द्रको नेतृत्व गर्ने एक मात्र निर्वाचन अधिकृत बन्ने माैका उनले पाइन् । केन्द्रको नेतृत्व गर्न पाउनु आफ्नो लागि राम्रो अवसर रहेको उनको भनाइ छ ।
हाम्रो टिमसमेत मिलेको छ, महिलाले अवसर पाए पाएको अवसरलाई उदाहरणीय बनेर देखाउनेछन् भनी आफूहरूले काम सम्पन्न गरेर देखाउने उनले बताइन् । महिलाले केही गर्न सक्दैनन् भन्ने मान्यतालाई चिर्दै आफूहरूले महिलालाई काम गर्न सक्दैनन् हैन अवसर पाए जस्तो कामसमेत पुरुषको तुलनामा राम्राे गर्न सक्छन् भनी देखाउने गरी काम गर्ने ढुंगानाले बताइन् ।